आगलागीबाट एक वर्षमै ११२ को मृत्यु, ३ अर्बको क्षति

|

काठमाडौं : वर्षायाममा बाढीपहिरो, जाडोमा शीतलहर। अनि सुक्खा मौसममा आगलागी र डढेलोको जोखिम नेपालीहरूको नियति बनेको छ।

 पछिल्लो समय देशभर आगलागीका घटना बढ्दै गएका छन्। व्यापक रूपमा बढ्दै गएको आगलागीले जनधनको क्षति भइरहेको छ।

घटना-१

डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ। पैतालीस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ।

डढेलोले जिल्लाको ६ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।

डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन्। डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने हजारौँ पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए।

जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए।

कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो  देखिएको उनी बताउँछन्। दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए।

घटना-२

महोत्तरीको मटिहानी-६ को मुस्लिम बस्तीका अग्निपीडित परिवारहरू राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्। 

बुधबार आगलागीमा १०० घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका घर खरानी भएका हुन्।

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरिरहँदा जिल्ला प्रशासन कार्यालयले त्यसका लागि प्रयास भइरहको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गरेका छन्।

घटना-३

तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो। 

डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ। आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।

समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए। उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका ६/६ वटा सामुदायिक वनमा डढेलो लागेको थियो। 

त्यसैगरी ऋषिङ गाउँपालिकामा चारवटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई/दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको थियो।

भौगोलिक विकटताका कारण आगलागीका घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको उनले बताए।

घटना-४

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन्।

बुधबार बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो।

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ।

यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ।

यसैगरी, खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ। डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ। खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ।

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ। डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन्।

घटना-

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा मंगलबार लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

गाईखर्क सामुदायिक वनमा  मंगलबार लागेको  डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक/एक वटा घर आगोले जलेर नष्ट भएको हो।

आगलागीबाट रु ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको  तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा रु २३ लाख, केशव राई र मकरबहादुर राईको  नगद रु एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा रु २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए।

वैशाख ६ गते गुल्मीको इश्मा गाउँपालिका-२ हाँडीखोला रानीवन पैंयापाटा सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा क्षतिग्रस्त घर।

११२ को मृत्यु, ५१२ घाइते, ३ अर्बको क्षति

जब घटना घट्छ त्यसबेला तदारूकता देखाउने तर घटना हुनुभन्दा पहिले यसको रोकथामको पूर्वतयारी भने सरकारले खास्सै गरेको देखिँदैन।

गत चैत ५ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अशोककुमार चौधरीले यसको रोकथामको लागि गम्भीर हुन सरकारसँग माग गरेका थिए।

उक्त समयमा चौधरीले  मोरङ, भोजपुर, पाँचथरलगायत जिल्लामा आगलागी हुँदा धनजनको क्षति भएको घटना औँल्याउँदै  विगत १० वर्षको तथ्यांकअनुसार सो अवधिमा १८ हजार ७९२ आगलागीका घटना भएका र ७६९ जनाको ज्यान गएको छ भने २ हजार ५६८ जना घाइते भएको उल्लेख गरेका थिए।

उनले आगलागीबाट मात्र २२ अर्ब २३ करोडभन्दा बढीको आर्थिक क्षति भएको बताएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको १ वर्षमा  ४ हजार १ सय ४० वटा  आगलागीका घटनाबाट ११२ जनाले ज्यान गुमाएको जनाएको छ।

यो अवधिमा करिब ३ अर्बको क्षति भएको छ। यस्तै, १ हजार १ सय ८५ भौतिक संरचनामा क्षति पुगेको छ। २ हजार २ सय ५८ पशुपक्षी नष्ट भएका छन् भने यो अवधिमा ५ सय १२ जना व्यक्तिहरू घाइते भएका छन्।

पूर्वतयारी नहुँदा क्षति व्‍यहोर्न बाध्य छन् नेपाली

सरकारले आगलागीका घटनाको रोकथामका लागि पूर्वतयारी नगरेकै कारण बर्सेनि ठूलो मात्रामा धनजनको क्षति भइरहेको आवाज उठ्ने गरेको छ।

जब घटना घट्छ, त्यसपछि बल्ल हामी देख्छौँ, आवाज उठ्छ रोकथामका लागि तर यो घटना हुनुपहिले यसबारे कुनै कुरा उठ्दैन। हामी रोकथामको लागि पूर्वतयारी नै गर्दैनौँ, त्यही भएर झन् आगलागीको ग्राफ बढ्दै गइरहेको फायर फाइटर किशोरकुमार भट्टराईले थाहाखबरसँगको कुराकानीमा भनेका थिए।

सरकारलाई समय समयमा विपद्का घटना घट्छन् भन्ने जानकारी छ तर यसमा गम्भीर नभएको उनको भनाइ छ।

‘जस्तो इक्जाम दिनुपर्छ भने पहिले रूटिन आउँछ, बनाउनुपर्छ यसका लागि तर यस्ता घटनाको रूटिन अलरेडी थाहा छ, असार साउनमा बाढीपहिरो, जाडो महिनामा शीतलहर र अहिले आगलागीका घटना हुन्छन् भन्ने पहिलै जानकारी छ, मात्रै भूकम्पबारे थाहा हुँदैन तर यसको रोकथामको तयारी खै?,’ उनले थाहाखबरसँग भने।

जति घटना घटे पनि यसबाट कसैले नसिकेको उनी बताउँछन्। ‘गत वर्ष पनि आगलागीका घटना भए तर हामीले यसबाट सिकेनौँ। सरकारले नियन्त्रणको लागि तालिम दिएन, दक्ष जनशक्तिको व्यवस्थापन गरेन,’ उनले भने, ‘विदेशी मुलुकमा हेलीबाट जंगलमा लागेको आगलागी नियन्त्रण गर्छ तर हाम्रोमा त्यस्तो केही सुविधा छैन।’

वनको आगो निभाउन वर्षाको प्रतीक्षा

प्राधिकरणका अनुसार  पछिल्लो ५ दिनमा मात्र ४ सय १४ स्थानमा आगलागीका घटना भएका छन्। जसमा ५ जनाको मृत्यु भएको छ भने एक करोड १८ लाख क्षति पुगेको छ। ३२ जना घाइते भएका छन्।

प्राधिकरणका एक कर्मचारीले यो वर्ष बढ्दो खडेरीले पनि आगलागीको घटना बढ्दै गएको बताए। उनले भने, ‘हामीसँग भएका पूर्वाधारले मात्र काम गर्न सक्ने अवस्था छैन। वनमा लागेको आगो निभाउन वर्षात् नै हुनुपर्ने अवस्था छ।'

प्युठानको एक डिपोमा लागेको आगो नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका जेसिबी चालक र सहचालकलाई सम्मान।

विपद्जन्य घटनामा सरकारले व्यवस्थापनका अनेक उपाय अपनाइरहेको दाबी गर्छन् प्राधिकरणका उपसचिव तथा प्रवक्ता डिजन भट्टराई।

‘हामीले विपद् व्यवस्थापन गर्न तीनै तहका सरकारसँग सहकार्य गर्दै आइरहेका छौँ। बस्ती तथा सामुदायिक वनमा हुने आगलागी पनि हामीले सुरक्षा निकाय र स्थानिय निकायसँग काम गरेका छौँ।'

उनी पूर्वतयारी व्यापक गरे पनि भैपरी आउने घटनाहरू रोक्न नसकेको स्वीकार गर्छन्। ‘आगलागी हुन नदिन तथा भए कसरी व्यवस्थापन गर्ने विषयमा सचेतना कार्यक्रमहरू देशभर चलाइरहेको छौँ। तर आगलागी हुन रोक्न सकेका छैनौँ’, उनले भने।

नेपालका ज्यादातर शहरी क्षेत्रमा दमकलको व्यवस्थापन भए पनि गाउँको हकमा दमकलले पनि प्रभावकारी हुन नसकेको उनको बुझाइ छ।

कतिपय आगलागीका घटनाहरू भने मान्छेहरूले जानीबुझी गर्ने गरेको पाइएको भट्टराईले बताए। त्यस्तो पाइएमा कारबाही पनि गरिरहेको उनले बताए।

वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुलउपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान रहेको पनि उनले उल्लेख गरे।

तस्वीर : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.