|

कराची : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बंगलादेशलाई विगतमा गरिब भन्ने गरेकोमा लाज लागेको बताए।

कराचीस्थित सिन्धका मुख्यमन्त्री निवासमा ठूला व्यापारीहरूलाई सम्बोधन गर्दै शहबाज शरीफले यस्तो बताएका हुन्। शरीफले भने, ‘म सानै छँदा पूर्वी पाकिस्तान (अहिले बंगलादेश) हाम्रो काँधमा बोझ थियो भनिन्थ्यो। आज हामी सबैलाई थाहा छ‚ त्यो 'बोझ' आज आर्थिक वृद्धिको हिसाबले कहाँ पुग्यो।’

बंगलादेशको प्रगतिलाई स्विकार्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले आज बंगलादेश देखेर आफ्ना देशवासीलाई लाज लागेको बताएका छन्। उनले आत्मालोचना गर्दै भने, ‘आज बंगलादेशलाई हेर्छौं। हामीलाई लाज लाग्छ।’

स्मरणीय छ‚ तत्कालीन 'पूर्वी पाकिस्तान'ले पाकिस्तानको भूभागको रूपमा धेरै आर्थिक संकट भोग्नुपरेको थियो। पाकिस्तानले राजनीतिक शक्तिका साथ राज्यका स्रोतहरू नियन्त्रणमा लिएको थियो। यसले गर्दा ‘पूर्वी पाकिस्तान’ले निकै अभाव र गरिबी भोगेको थियो।

बंगलादेशको प्रगतिको उदाहरण उद्धृत गर्दै व्यापारी समुदायसँग पाकिस्तानको अर्थतन्त्रलाई बढावा दिने उपायबारे छलफलका क्रममा उनले यस्तो बताएका हुन्। पाकिस्तानी पत्रिका डनका अनुसार व्यापारिक नेताहरूले आर्थिक मुद्दाहरू समाधान गर्न प्रधानमन्त्री शरीफले चालेका कदमको प्रशंसा गरे। यद्यपि उनले पाकिस्तानमा राजनीतिक अस्थिरताका बारेमा चिन्ता व्यक्त गरे।

हाल पाकिस्तानको प्रतिव्यक्ति वार्षिक आय १ लाख ९५ हजार ८२० नेपाली रुपैयाँ छ भने बंगलादेशको ३ लाख ३६ हजार ५२८ रुपैयाँ रहेको छ।

कराँचीको व्यापारी समुदायले प्रधानमन्त्री शरीफलाई अर्थतन्त्रको सुधारका लागि राजनीतिक स्थिरता कायम गर्न सुझाव दिएका छन्। उनले शरीफलाई भारतसँग व्यापार वार्ता शुरु गर्न पनि आग्रह गरे। आरिफ हबीब समूहका प्रमुख आरिफ हबीबले प्रधानमन्त्री शरीफले पद सम्हालेपछि चालिएका कदमले असल परिणाम ल्याएको बताए।

उनले भने‚ ‘आईएमएफ (अन्ताराष्ट्रिय मुद्राकोष)मा प्रगति तीमध्ये एक हो। म भारतसँग व्यापारका लागि प्रयास गर्न सुझाव दिन्छु। यसले हाम्रो अर्थतन्त्रलाई ठूलो फाइदा पुर्‍याउनेछ।’ उनले देशमा स्थिरताका लागि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानसँग कुरा गर्न आग्रह गरे।

पाकिस्तानको व्यापारिक समुदायले भारतसँग व्यापार शुरु गर्न निरन्तर जोड दिइरहेको छ। हालै पाकिस्तानी विदेशमन्त्रीले पनि भारतसँग व्यापार शुरु गर्ने संकेत गरेका थिए।

भारतले सन् २०१९ मा जम्मुकश्मीरको विशेष दर्जा खारेज गरेपछि पाकिस्तानले व्यापारिक सम्बन्ध तोडेको थियो। त्यसयता भारत र पाकिस्तानबीच प्रत्यक्ष व्यापार हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.