|

काठमाडौँ :परराष्ट्रविद् जयराज आचार्यले राजदूत नियुक्तिको मापदण्डबारे पुनर्विचार गर्न सुझाव दिएका छन्। 

राजदूत हुने मान्छेले कूटनीतिका विषयमा कति लेखेको, पढेको अनि छापेको हेर्नुपर्ने उनले सुझाव दिए। उनले दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कूटनीतिज्ञको नियुक्ति र कूटनीति सञ्चालनको ढाँचा पुनर्विचार आवश्यक भइसकेको बताए।

राजदूतका लागि अध्ययन, अनुभव र राष्ट्रप्रेम अपरिहार्य रहेको प्रसंग दोहोर्‍याउँदै आचार्यले भारतले भाजपाका सदस्य नरहेका एस जयशंकरलाई राजदूत बनाउँदा उनको अध्ययन र अनुभवका आधारमा बनाएको स्मरण गरे। ‘हाम्रोमा त्यो छैन । त्यो छलफल हुनुपर्छ’, आचार्यले भने। 

राजदूतहरूलाई आधारभूत रूपमा देशको परराष्ट्र नीति, जाने देश अनि राष्ट्रसंघमा हाम्रो र जाने देशको भोटिङ प्याटर्नको विषय सोधिनुपर्ने उनले बताए।

राजदूत नियुक्ति गर्दा संसदमा सुनुवाइ गर्नुपर्ने सुझाव आफैंले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई दिएको स्मरण गराउँदै सुनुवाइमा सोधिने प्रश्न उपयुक्त नभएको स्पष्ट पारे। सुनुवाइमा सोधिनुपर्ने प्रश्न नै नसोधिने गरेको र राजदूत नियुक्तिपछि तालिम दिने चलन अन्यत्र भए पनि नेपालमा नभएको उनले दुखेसो गरे।

अहिलेका राजदूत तथा परराष्ट्रका अधिकारीमा अध्ययन गर्ने र लेख्ने प्रचलन नभएको भन्दै विगतमा यदुनाथ खनालको कूटनीतिक विषयमा लेखेका सय लेखको ८ सय पेजको किताब रहेको स्मरण गरे। ‘अधिकांश लेख सचिव, राजदूत पदमा भएको वेला लेखेका हुन्’, उनले भने ।

कूटनीतिज्ञमा हुनुपर्ने तीन गुण
२०४८ देखि २०५१ सालसम्मको महत्त्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हालेका आचार्यको अनुभवमा कोही पनि कूटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्छ। ‘अध्ययन, अनुभव र राष्ट्रप्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कूटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन्। जोसँग यी बढी भयो त्यही प्रभावशाली हुन्छन्’, आचार्यले भने।

कोही व्यक्ति कूटनीतिज्ञका रूपमा प्रभावशाली बन्न देशको भूगोलले प्रभाव नपर्ने भन्दै उनले यदुनाथ खनालको उदाहरण दिए। कूटनीतिज्ञको पद अथवा देशभन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्ने कुरा निर्धारण गर्ने आचार्यले बताए।

गृहकार्य नहुँदा भारत र चीनका भ्रमणबाट लाभ लिन सकिएन
‘रूसका राष्ट्रपति ख्रुस्चेभले बीपीलाई होटलमा आएर ३ पटक भेटेका छन्, भारतका प्रधानमन्त्री नेहरूले २ पटक आएर भेटेका छन्’, उनले भने, ‘राजा महेन्द्रले २०२४ सालमा अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको इतिहास छ। नेपालको रणनीतिक अवस्था, शीतयुद्ध र हाम्रो कूटनीति मिसाएर हामीले गौरवपूर्ण सम्मान हासिल गरेका थियौँ।’

विगतमा बेलायती महारानी एलिजाबेथ २ पटक, जर्मन चान्सलर हेल्मुट कोल तथा फ्रान्सका राष्ट्रपति आए पनि अहिले त्यस्ता ठूला भ्रमण नहुँदा नेपाललाई महत्त्व नदिएको देखिएको बताए। साथै भारत र चीनबाट भ्रमण बढे पनि हाम्रो तयारी नपुग्दा महत्त्वपूर्ण भ्रमणबाट लाभ लिन नसकेको कूटनीतिज्ञ आचार्यले बताए।

परिपक्व कूटनीति भएको भारतको नाकाबन्दी रोक्न सकिन्थ्यो
‘भारतसँग सम्बन्ध बिग्रिएको छ, मोदी आएपछि संविधान ल्यायौँ तर भारतको असहमति भएपछि नाकाबन्दी भयो। ५–६ महिना जनताले दुःख पाएपछि भारतले अति भयो भनेर हटायो। त्यो ज्यादै गम्भीर कुरा हो नि’, उनले भने।

नेपालको कूटनीति परिपक्व भएको भए भारतले लगाएको नाकाबन्दी रोक्न सकिने तर्क गर्दै आचार्यले भने, ‘हामीले यस्तो संविधान बनाउँछौँ। त्यो भारतको विरोधमा होइन, नाकाबन्दीको आवश्यकता छैन नगर्नुहोला भनेर पहिल्यै आँकलन गरेर प्रष्ट भन्न सक्नुपर्थ्यो।’

यस्तै अवस्थामा आचार्यले यदुनाथ खनालको कूटनीतिक कौशल स्मरण गरे। ‘२०१७ सालपछि राजाले जुन कदम लिए, त्यो आन्तरिक राजनीतिक प्रक्रियाको उपज हो र यो भारतविरोधी होइन भनेर खनलले आश्वस्त पार्नुभएको थियो। पछि नेहरूले पनि हो स्विकारे’, आचार्यले भने। भारतको विभिन्न विषयमा असहमति हुँदाहुँदै र खराब सम्बन्ध रहेकै वेला पनि पञ्चायतकालमा पनि शिक्षा, यातायात आदि क्षेत्रमा भारतले सहयोग गरिरहने अवस्था बनेको स्पष्ट पारे। यदुनाथ खनालको परिपक्व कूटनीतिकै कारण यो सम्भव भएको उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.