|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका नागरिकलाई पानीकै पिरले सताउँदै आएको छ। पानीका लागि जिल्लाकै समस्याग्रस्त मानिएको उक्त क्षेत्रका धेरै परिवार पानीकै सङ्कटका कारण पनि बिस्थापित भएका छन्। सामान्य गाउँ नभएर साविकको वडाभर नै पानीको समस्या हुँदा सानो योजनाले तिर्खा मेटाउन मुस्किल छ।

पानीको अभावमा ‘बोर’ भइरहेको शंकरपोखरीबासीले अब भने गाउँमा ‘बोरिङ’ नै ‘बोरिङ’ देख्न पाएका छन्। ‘बोरिङ’ गरेर पानी निकाल्ने सोच पहिला आएन वा आएर पनि बजेट भएन त्यो आफ्नै ठाउँमा रह्यो। तर अहिले शंकरपोखरीबासीलाई लाग्न थालेको छ की ‘बोरिङ गरेर पानी आउने रहेछ भने यतिका वर्ष काकाकुल भएर किन बाँचियो होला?’

समुद्र सतहबाट एक हजार पाँच सय मिटर उचाइमा रहेको भूमे कोट डाँडामा वडाको तेस्रो ‘बोरिङ’ प्रविधिमार्फत पानी निकालिएको छ। झन्डै एक सय ४० मिटरको गहिराइबाट प्रति सेकेन्ड दुई लिटरका दरले झरेको पानी स्थानीय दुई सय परिवारलाई वितरण गरिने वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताए।

प्रायः दलित परिवार रहेको बस्तीमा आइतबारदेखि नै ‘पाइप’ मार्फत पानी वितरण गर्ने तयारी छ। वडाको तेस्रो स्थानमा ‘बोरिङ’ पानी निकालेर वितरण भएको भए पनि यसका लागि बजेट भने नआएको तर कम्तीमा १० लाखबाट ‘बोरिङ’ को काम सुरु भएको कार्कीको भनाइ छ।

वडाको दोस्रो ‘बोरिङ’ पोखराचौरको आँखेतमा रहेको छ भने पहिलो पुर्कोट धारापानीमा रहेको छ। यससँगै शंकरपोखरीबासीले वर्षौँदेखिको समस्याबाट केही मुक्ति पाउने भएका छन्। आँखेतको ‘बोरिङ’ बाट तीन सय परिवारलाई पानी वितरण गरिँदै छ भने धारापानीको ‘बोरिङ’ ले दुई सय ५० परिवारलाई पानी आपूर्ति हुँदा तीन ओटा ‘बोरिङ’ बाट करिब सात सय ५० परिवारले पानी पाउने भएका छन्।

सबैको सक्रियतामा छोटो समयमै खानेपानीको समस्या समाधान गर्न सकिएको भन्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले खुसी व्यक्त गरे। उनले शंकरपोखरीमा पानीको दीर्घकालीन समस्या समाधानका लागि केन्द्र सरकारसँग आफूले पहल गरिरहेको पनि बताएका छन्।

पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे। खरो लागेको बेला एक गिलास पानी पाउनुभन्दा ‘कोल्ड ड्रिँक्स’ ले प्यासले मेटाउनुपर्ने बाध्यता शंकरपोखरीमा छ। एक गाग्री पानीको लागि आधादेखि एक घण्टा टाढा रहेका सामान्य धारा र कुवामा निर्भरता हट्ने भएपछि शंकरपोखरीवासीलाई यो खुसी हुने अर्को कुरा छैन।

पानीको यो आपूर्ति भने सरकारले नभई स्थानीय निर्माण व्यवसायी गिरिजाप्रसाद तिवारीले आगामी दिनमा स्रोतको खोजी गर्ने गरी गरेका हुन्। लाखौँ लगानी गरेर लमाए खोलाको पानीलाई ‘लिफ्ट’ गरेर वितरणका लागि काम चलिरहेको भए पनि त्यसले मात्रै आवश्यकता पूरा नहुने अवस्था छ। पानीको आपूर्तिलाई सहज बनाउनकै लागि निर्माण व्यवसायी तिवारीले आउँदा दिनमा कुनै स्रोतको खोजी गर्ने तर तत्कालका लागि गाउँलेको प्यास मेटाउने उद्देश्यले काम गरिएको वडाध्यक्ष कार्की बताउँछन्।

शंकरपोखरीमा गाउँबाट निकै तल रहेको लमाए खोलाबाट ‘लिफ्ट’ योजनामार्फत पनि पानीको आपूर्ति गर्ने काम अन्तिम चरणमा छ। केही समय पहिला जोडिएको ‘मोटर’ मा समस्या देखिएपछि अहिले पानी नआएको र अब नयाँ ‘मोटर’ जोडेपछि लमाएको पानी समेत वितरण सुरु हुने छ। यी दुवै योजनामार्फत आउने पानीले एकद्धार प्रणालीबाट आवश्यकता अनुसारका ‘ट्याङ्की’ मा खसालेर ‘मिटर सिस्टम’ मार्फत पानीको आपूर्ति गरिने वडाध्यक्ष कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.