|

ललितपुर : चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबलको क्वार्टरफाइनलमा भिड्ने भएका छन्। 

नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा आइतबार सम्पन्न खेलमा काठमाडौँका चन्द्रागिरि र नागार्जुनले ललितपुरका बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकालाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेका हुन्। 

पहिलो खेलमा नागार्जुन नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३–० अन्तरले हराएको छ। नागार्जुनको जितमा रोजन माली, विकेस विँडारी र विशाल घलेले १–१ गोल गरेका हुन्। यो खेलको म्यान अफ दि म्याच सुसन धमला भए। 

यस्तै झ्यालुन्टार खेल मैदानमै सम्पन्न अर्को खेलमा चन्द्रागिरि नगरपालिकाले बाग्मती गाउँपालिकालाई १०–० को भारी अन्तरले हराएको छ। 

खेलको म्यान अफ दि म्याच भएका अविरल रिजालले सर्वाधिक ४ गोल गरे। यस्तै कप्तान समिर केसीले ३ गोल गर्दा आयुषमान श्रेष्ठ, दावा नोर्बु शेर्पा र रुजित पुडासैनीको नाममा थप एक–एक गोल रह्यो। चन्द्रागिरि र नागार्जुनबीचको क्वार्टरफाइनल खेल वैशाख २१ गते दिउँसो साढे १२  हुनेछ। 

यसअघि गोदावरी नगरपालिकालाई पेनाल्टिमा ४–२ ले हराउँदै महालक्ष्मी नगरपालिकाले क्वार्टरफाइनलमा दक्षिणकाली नगरपालिकासँगको भेट पक्का गरिसकेको छ। 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। सोमबार प्रतियोगितामा एउटा मात्र खेल हुँदैछ। ३ बजे हुने खेलमा मध्यपुर थिमी र टोखा नगरपालिका भिड्नेछन्। 

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ। यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.