|

दाङ : राजपुर गाउँपालिका ७ हाडबासमा आगलागीबाट २३ वटा घरगोठ पूर्णरुपमा जल्दा  ८७  लाख बढिको क्षति भएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ। ​

हाडबास स्थित गाइघाट सामुदायिक वनमा  लागेको आगो एक्कासि हावाहुरी चल्दा गाउँमा प्रवेश गर्दा बस्तीमा आगलागी भएको थियो।  

प्रहरीका अनुसार ८७ लाख ७५ हजार बराबरको क्षति हुँदा ९९ जना विस्थापित भएका छन्।  प्रहरीका अनुसार प्रहरीलाई जङ्गलमा आगो लागेको भन्ने सूचना  आइतबार मध्यान्ह १२ बजेतिर आएको थियो। इलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरीहरू आगो नियन्त्रणको लागि पुगेका थिए। तर, नियन्त्रणको क्रममा एक्कासि लागेको हावाहुरीका कारण आगो बस्तीमा पुगेको थियो।

गाउँमा लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत खटेका थिए। यस्तै आगलागीबाट स्थानीय इन्द्र बहादुर वलीको खरले छाएको घर र गोठ पूर्णरुपमा जल्दा करिब ५ लाख बराबरको  क्षति भएको छ। यस्तै शालिकराम वलीको घर जल्दा करिब २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यस्तै कमल केसीको घर जल्दा साढे एक लाख, चन्द्र बहादुर कुमालको  घर र गोठ जल्दा एक लाख,  यम बहादुर कुमालको घर र गोठ जल्दा २ लाख, भीमी  कुमारी बोहराको घर र गोठ जल्दा ४ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए।

उनका अनुसार लोक बहादुर भण्डारीको घर र गोठ जल्दा  करिब ४ लाख, दामोदर भण्डारीको घर, गोठ र ४ वटा बाख्रा गरी करिब ६ लाख, भगिरथ कवरको घर, गोठ जल्दा साढे एक लाख , खेमलाल खत्रीको घर, गोठ पूर्णरुपमा जल्दा करिब २ लाख बराबरको क्षति भएको छ। यस्तै खेमराज डाँगीको घर, गोठ जल्दा ६ लाख, रुपनाथ योगीको घर, गोठ जल्दा ४ लाख, टेक बहादुर डाँगीको घरगोठ जल्दा करिब ९ लाख, शालिकराम डाँगीको किराना पसल, घर, गोठ पूर्णरुपमा क्षति हुँदा  ३ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ।
 
स्थानीय धर्मराज डाँगीको  घर, गोठ जल्दा करिब ७ लाख,  अर्जुन योगीको ३५ हजार,  नर बहादुर थापाको ७ लाख,  विशाल बुढाको ४ लाख,  काली ऐरीको  २ लाख,  सीता भण्डारीको एक लाख २० हजार,  भेष बहादुर केसीको ५ लाख, मानिनाथ कवरको ५ लाख र लाल बहादुर केसीको ५ लाख बराबरको क्षति भएको छ। आगलागी पीडितहरूलाई आ–आफ्नो पाखो बारीमा स्थानीय पालिकाबाट खाद्यान्न र मानव कल्याण शाखा घोराहीबाट टेन्ट, म्याट्रेस र कम्बलको व्यवस्था गरी तत्कालका लागि पुनर्स्थापित गरिएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.