|

काठमाडौं : स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिन त्यहाँ रहेका मन्त्री  यादवले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौती भएकाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएको तर्क गरे।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा मन्त्री यादवले संयुक्त राष्ट्रसंघको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक-आर्थिक विकासमा राष्ट्रसंघले गरेको योगदानको सराहना गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री यादवले नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकम विकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको बताए।

महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्ध र सहयोग प्रगाढ रहेकामा प्रशन्नता व्यक्त गर्दै हालैको आफ्नो नेपाल भ्रमणको स्मरण गरे। उनले मानवअधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यप्राप्तिमा नेपालले गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे।

महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे। साथै उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गरे। उनले स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसंघीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यस अवसरमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको उपस्थिति छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.