|

पर्वत : किताबका पाना दुरुस्तै घोक्न सक्नु र त्यही सम्झिएर परीक्षामा आएका प्रश्नको हल गर्न सक्नुलाई सिकाइको सबैभन्दा बलियो मूल्याङ्कनको रूपमा हेर्ने गरिएको छ। शिक्षकले दिएका कुरा घोकेर परीक्षामा जस्ताको लेखेपछि ‘ग्रेड सिट’ मा देखिने ‘ए प्लस’ को ‘रेङकीङ’ पाउने सबै विद्यार्थीका जीवनमा भने ‘ए प्लस’ आउन नसक्दा आजभोलिको बहस प्रयोगात्मक सिकाइमा केन्द्रित छ।

किताबी घोकाइमा मात्रै केन्द्रित गर्दा विद्यार्थीहरूमा रचनात्मकताको लोप हुँदै गएको, अघिल्लो पुस्ताले प्रयोगमा ल्याएका मौलिक परम्पराहरूको पुस्तान्तरण नभएको, विद्यार्थीलाई वैदेशिक रोजगारीका लागि तयार बनाउने काम मात्रै भएको लगायतका बहस अहिलेको शिक्षा प्रणालीमा छन्। नेपाली विद्यार्थीको पलायनको अवस्थाकै कारण अब भने स्थानीय तहहरूले आफ्ना कार्यक्रमहरूलाई विद्यार्थी केन्द्रित गर्दै छन्।

यसै अन्तर्गत जिल्लाको मोदी गाउँपालिकाले विद्यालयमा पढाई हुने भन्दा अतिरिक्त समयमा करेसाबारीमा तरकारी, फलफूल लगायत मौसम अनुसारका अन्नपात उत्पादन गर्नतर्फ आकर्षित गराउन ‘सिक्दै कमाउँदै, पढ्दै रमाउँदै’ कार्यक्रम सुरू गर्न लागेको छ। गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार चालु आर्थिक वर्षबाट सुरूवात गरिएको यो कार्यक्रममा गाउँपालिकाले सुरूमा दुई लाख रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रम सञ्चालनको लागि वडा-२ को जननेत्र माध्यमिक विद्यालय र वडा-६ को तुलोदय माध्यमिक विद्यालय छनोटमा परेका छन्।

कार्यक्रममा छनोट भएका विद्यालयमा गाउँपालिकाले ८० प्रतिशत लगानी गर्ने छ भने सम्बन्धित विद्यालयले २० प्रतिशत लगानीको साझेदारी गर्ने छन्। यस वर्ष परीक्षणको रूपमा दुई विद्यालयलाई छनोट गरिएको र यसको नतिजाको आधारमा आगामी वर्षहरूमा अन्य विद्यालयमा पनि यो कार्यक्रम लागू हुन सक्ने लामिछानेको भनाई छ। मोदी गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको एउटा मर्म जसले जे सक्छ र जानेको छ उसले त्यो काम गरेमा समृद्ध हुन सकिने रहेकोले पनि यो कार्यक्रम महत्त्वपूर्ण हुने उनले बताए।

‘हामीले गत वर्षदेखि स्थानीय पाठ्यक्रम विद्यालयमा लागू गरेका छौँ। त्यो पाठ्यक्रममा समावेश भएका विषयवस्तु घोक्ने भन्दा पनि आफूले जे काम गर्न सकिन्छ त्यो गर्नै पर्छ। परनिर्भरताले समृद्धि आउँदैन भन्ने कुरा विद्यार्थीले सिक्नुपर्छ’, उपाध्यक्ष लामिछाने भन्छन्, ‘सबैले बसेर खाने हो भने काम गर्ने चाहिँ को हो? अब विद्यार्थीलाई उत्पादनमा जोडेर औपचारिक शिक्षा सहितको पूर्ण युवाको निर्माण गर्नुपर्छ।’ यो कार्यक्रमले विद्यालयमा अन्नबाली लगाउन सिक्ने, घरमा बाबुआमालाई समेत कृषि कर्ममा सघाउने, आम्दानीबाट अध्ययनमा सघाउ पुग्ने,   परम्परागत र आधुनिक प्रविधिबाट गरिने खेती प्रणालीको बारेमा विद्यार्थीले सिक्ने लगायतका फाइदा पुग्ने उनको विश्वास छ।

कार्यक्रम लागू हुन लागेको विद्यालयका एक जना शिक्षक भूमिराज शर्माले स्थानीय तह आफैले सुरू गरेको यो कार्यक्रमले विद्यार्थीको दिवा खाजा सहित विद्यार्थीलाई आयआर्जनमा समेत जोड्ने बताए। गाउँपालिकाले दिने बजेटबाट ‘प्लास्टिक टनेल’ निर्माण गरेर बाह्रै महिना नगदे बाली लगाइने छ। तरकारी उत्पादनलाई प्राथमिकतामा राख्ने र उत्पादित तरकारीलाई सोही विद्यालयमा दिवा खाजाको रूपमा वा बाहिर समुदायमा पनि मापदण्ड बनाएर बिक्री गर्न सकिने छ। यो कार्यक्रमलाई सफल पार्न सके गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमको उद्देश्य पूरा गर्न बल मिल्ने शिक्षक शर्माको भनाइ छ।

यसअघि जिल्लाको पैयुँ गाउँपालिकाले पनि व्यवहारिक र सीपमूलक शिक्षा अन्तर्गत विद्यार्थी र शिक्षकलाई तरकारी उत्पादनमा जोड्न दुई विद्यालयमा कार्यक्रम सुरू गर्न लागेको छ। ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत गाउँपालिका–७ भोर्लेमा रहेका जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको एक लाख ५० हजार रुपैयाँ लगानीमा यो कार्यक्रम सुरू गर्न लागिएको छ। पहिलो चरणमा दुई विद्यालयमा कार्यक्रम सुरू गरेको भए पनि आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबैजसो विद्यालयमा यो कार्यक्रम सुरू गरिने पैयुँको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.