|

अत्तरिया : आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका ९ महिनामा १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आव ०८०/८१ को साउनदेखि चैत मसान्तसम्ममा उक्त राजस्व सङ्कलन गरेको हो।

आयकरबाट १ अर्ब १ करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट १० करोड ५६ लाख, ब्याजवापत ३ करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट १ लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यालयको चालु आवका ९ महिनामा २ अर्ब १० करोड ९६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ। 

चालु आवमा ३ अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेकामा ९ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

“करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ”, उनले भने, “आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व सङ्कलनमा कमी आएको छ।” 

कार्यालयको आव ०७९/८० मा ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.