|

काठमाडौँ : दुई महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छ। गत फागुन १८ गते  सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल सकिएको थियो।

हालसम्म सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन। मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले गत माघ २६ गते १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो।

मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि गठित समितिमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष तथा त्रिवि सभा सदस्य डा देवराज अधिकारीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेल र शिक्षा सचिव सदस्य छन्।  

उपकुलपति छनोटका लागि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको भन्दा कडा मापदण्ड राखिएको भन्दै रोक्न दबाव आएपछि समितिको फागुन ६ गते बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया स्थगित गरेको थियो।

यतिखेर निमित्तको भरमा उक्त विश्वविद्यालय चलेको छ। कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा कर्णबहादुर थापालाई निमित्त उपकुलपति तोकेका छन्। 

चैतमा भएको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्ने बताएकी थिइन्।

उनले भनेकी थिइन्‚ ‘बालुवाटारमा बसेको बैठकमा विश्वविद्यालयको नेतृत्वका लागि अनुसन्धानमा बढी नम्बर दिनुपर्छ भनेर सम्झाएका छौं, त्यहीअनुसार हामी अगाडि बढ्छौँ।’ उनले भनेअनुसार हालसम्म नियुक्त भने हुन सकेको छैन।

समिति भन्छ : प्रधानमन्त्रीकहाँ सिफारिस गर्न अन्तिम चरणमा पुगेका छौँ

समितिका सदस्य एवं राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनले थाहाखबरसँग भने,‘उपकुलपति छनोटका लागि अन्तिम चरणमा पुगेका छौँ, अब केही दिनमै सिफारिससहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै छौँ।’ गठित समितिले कुलपति एवं प्रधानमन्त्री समक्ष उपकुलपतिका लागि सिफारिस गरेपछि उनले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि समितिले ३ जना व्यक्ति छनोट गरेको छ। अब अंकभारसहित उक्त नामावली प्रधानमन्त्रीलाई बुझाइनेछ। नामावली हाललाई गोप्य राखिएको उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भने नियुक्ति गरिसकेका छन्। प्रधानमन्त्री सचिवालयका सदस्य मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.