|

काठमाडौं : विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थीहरुले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का विभागीय प्रमुख (डिन) को वैकल्पिक कार्यालय र परीक्षा शाखामा समेत तालाबन्दी गरेका छन्।

एमबीबीएसको प्रवेश परीक्षा मेरिट लिष्टको आधारमा सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाउनु पर्ने, पीजी (पोस्ट ग्र्याजुएट) तहको पढाई निशुल्क गर्नुपर्ने, कम्युनिटी पोष्टिङमा गएकाहरुलाई सम्झौता अनुसार सुविधा दिनुपर्ने लगायतको माग राखेर स्वतन्त्र विद्यार्थी युनियनले असार १९ गते डिन कार्यालयमा तालाबन्दी गरेको थियो। त्यसपछि डिन डा. जगदिशचन्द्र अग्रवालले मेहेगो भवनस्थित वैकल्पिक कार्यालयबाट काम गर्दै आएका थिए। आफूहरुको माग वेवास्ता गरेकाले डिनको वैकल्पिक कार्यालय र परीक्षा शाखामा समेत ताला लगाइएको क्याम्पसका स्ववियू सभापति डा. मिलन गैरेले बताए।

‘हामीले डिन ज्यूलाई पहिल्यै माग बुझाएका थियौँ तर उहाँले सुनुवाई गर्नुभएन। त्यसपछि हामीले २० असारदेखि डिन कार्यालयमा तालाबन्दी गर्‍यौं, त्यसपछि पनि उहाँले माग पुरा गराउने तर्फ लाग्नुभएन मेहेगो भवनबाट कार्य सञ्चालन गर्नुभयो। आज हामीले त्यहाँ पनि ताला लगाएका छौँ' उनले भने।

विद्यार्थीहरुले मुख्य कार्यालयमा ताला लागेपछि डिन प्रा .डा जगदीश अग्रवालले गत २० असारदेखि मोहेगो भवनबाट दैनिक कार्य सञ्चालन गर्दै आएका थिए।

आन्दोलनरत विद्यार्थीहरुले भर्ना अवधी सकिएको छ महिनापछि अग्रवालले गैरकानूनी रुपले एमबीबीएसमा विद्यार्थी भर्ना गरेको तथा मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गराउनुपर्ने लगायतका ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका छन्।

बुधबार विद्यार्थी र डिन कार्यालयले गठन गरेको टोलीबीच वार्ता भए पनि माग पूरा हुने संकेत नदेखिएपछि वैकल्पिक कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेर थप आन्दोलन अघि बढाइएको सभापति डा. गैरेले बताए। ‘हिजो नै माग पूरा गर्ने भन्ने कुरा थियो। तर उहाँहरुले त्यतातर्फ ध्यान नै दिनुभएन। आज पनि उहाँहरुले बार्तामा बोलाउनुभएन। अब हामीसंग आन्दोलनको विकल्प भएन’ उनले भने।

त्यसो त डिन कार्यालयले बुधबार प्रा डा. राजेन्द्रप्रसाद गुरागाईको संयोजकत्वमा तीन सदस्यीय बार्ता टोली गठन गरी विद्यार्थीहरुसँग वार्ता गरेको थियो। सो टोलीका सदस्यमा प्रा.डा वाईपी सिंह र प्रा.डा द्वारिकाप्रसाद श्रेष्ठ थिए। विद्यार्थीहरुको तर्फबाट वार्तामा स्ववियु अध्यक्ष डा गैरेको नेतृत्वमा घनश्याम पाण्डे र केशव आचार्य सहभागी थिए।

डिनको वैकल्पिक कार्यालयमा ताला लगाउन भेला भएका विद्यार्थीहरुले अवैध रुपमा गरेको विद्यार्थी भर्ना खारेज गर्नुपर्ने, अवैध भर्नामा सामेल व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने लगायतका नाराबाजी गरेका थिए। स्ववियुको नेतृत्वमा भएको यो आन्दोलनलाई त्रिविका सबै विद्यार्थी संगठन तथा समूहले साथ दिएका समेत डा. गैरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.