अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

|
फाइल तस्वीर

काठमाडौँ : सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।

‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्री रमणकुमार गौतमलाई नियुक्त गर्ने‚’ उनले भनिन्, ‘यसको समस्या समाधान गर्नु नै थियो। त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ।’

जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको वैशाख २३ गते हुने नेपाल भ्रमणका अवसरमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको पनि उनले बताइन्।

उनले दुई पक्षीय वार्ताको लागि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा परराष्ट्रका अधिकारीहरु सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुने बताइन्।

‘जापानी परराष्ट्रमन्त्री एचिएमएस कामिकावायोकोको २०८१ वैशाख २३ गते नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गरी वार्ता गर्ने अख्तियारी दिने‚’ उनले भनिन्, ‘उक्त दुई पक्षीय वार्ताको लागि यसैसाथ संलग्न अनुसूची पनि आएको छ। परराष्ट्रमन्त्रीज्युकै नेतृत्वमा यो परराष्ट्रका विभिन्न अधिकारी सम्मिलित वार्ता टोली र प्रतिनिधि मण्डल गठन हुनेछ।’

मन्त्री शर्माले देशभर भएका आगलागीका घटनाहरुमा पनि गम्भीरतापूर्वक छलफल भएको बताइन्। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर आगलागीका घटना न्यूनीकरण गरेर जानुपर्ने भन्ने निर्णय भएको पनि बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.