काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहप्रति लक्ष्य गर्दै सुकुम्वासीलाई हेपेको टिप्पणी गरेका छन्।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौँको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौँ महानगरलाई सुझावसमेत ओलीले दिएका छन्।
उनले मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने भन्दै प्रश्न पनि गरे।
‘सुकुम्वासीमाथि ज्यादति गर्यो भने अनि सुकुम्बासीहरु त्यसको प्रतिरोधमा उत्रिन्छन्‚ त्यसकारण ज्यादति नगरौँ‚’ उनले भने‚ ‘कहीँ हेप्ने मानिस भेटिएन अनि सुकुम्वासीलाई हेप्ने? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुन बहादुरी हुन्छ?’
सुकुम्वासीको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाइ थियो। उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भीरतापूर्वक छलफल गरिरहेको दावी पनि गरे।
काठमाडौँ महानगरले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिइरहेका वेला ओलीले ती बस्तीहरु भत्काउने अभियानको साटो निर्माण अभियान शुरु गर्नुपर्ने सुझाव दिएका छन्।
‘सुकुम्वासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने सुकुम्वासीहरुलाई लखेटी दिए‚ मारिदिए भयो। त्यसको व्यवस्थापन गर्नुपर्छ‚ समस्या समाधान गर्नुपर्छ। जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन‚’ ओलीले भने, ‘केन्द्रीय होस् कि, प्रदेश होस् कि, स्थानीय सरकार- जनताप्रति उत्तरदायित्व नलिने, अनुत्तरदायी, गरिब भनेको देख्न नसक्ने, सुकुम्वासी देख्नै नहुने, सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा भत्काउन डोजर जानुपर्छ? कर्कलो फाँड्न बञ्चरो लिएर जाने?’
अध्यक्ष ओलीले सुकुम्वासीमाथि ज्यादति नगर्न पनि पटकपटक आग्रह गरे। उनले सुकुम्वासी समस्या समाधानमा आफूले सरकारमा रहँदा काम गरे पनि हटेपछि अघि बढ्न नसकेको गुनासोसमेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।