|

काठमाडौं : १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक समारोहबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो।

उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले विदाई गरेका हुन्।

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुने आइसिसी‌ ट्वान्टी–२० विश्वकप खेल्दै छ। नेपालले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो। विदाई कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए। उनले राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्ने सुविधाका लागि समेत खेलाडीहरुले संघर्ष गर्नु परिरहेको बताए।

उनले भने, ‘खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याएको छ। एक ठाउँमा उभिएको छ। सरकारका तर्फबाट तपाईंहरुले पाउनुपर्ने कैयौँ कुरा पाउनुभएको छैन। एउटा राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका कुरा, आफूले पाएको र सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न समेत संघर्ष गर्नुपरेको अवस्थामा यो तपाईंहरुको बलले नै गर्नुभएको छ।’

सन् २०१४ को विश्वकप हेरेर नै हामी उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै कप्तान रोहितकुमार पौडेलले अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए। उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए। सदस्यसचिव टंकलाल घिसिङले प्रतिवन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटले पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहोर्‍याउन कडा मिहेनत गर्ने खेलाडीलाई धन्यवाद दिए।

उनले निरन्तर विश्व कप खेल्ने र एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे। सदस्यसचिव घिसिङले आगामी विश्व कपमा नेपाली टोलीको साथमा १२औँ खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका खेल्ने शुभकामना दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्ष अगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यसपटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए। क्यानका सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमले एउटा म्याच हार्दा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउने गरेको भन्दै हरेकपटक नै नयाँनयाँ टिम फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए।

उनले नेपाली क्रिकेटका लागि यो राम्रो रहेको पनि बताए। सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। वेस्ट इण्डिज एका कप्तान रोस्टन चेन्जले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको विश्वास व्यक्त गरे। नेपाली टोली आज राति नै अमेरिका प्रस्थान गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.