|

पर्वत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चालु आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दाबी गरेका हुन्।

‘चालु आर्थिक वर्षमा नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रूपमा कार्यान्वयन हुने अवस्थामा देख्दिन।’ मुख्यमन्त्री अधिकारीले भने।

चालु आर्थिक वर्षमा देखिएको समस्यालाई गम्भीरतापूर्वक मूल्याङ्कन गरेर आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने उनको भनाइ छ। बजेटको लागि सिद्धान्त र प्राथमिकताहरू तोक्ने, नीति कार्यक्रम बनाउने र बजेट निर्माण गर्ने काम अब तुरुन्त थाल्नुपर्ने पनि उनले बताएका छन्।

पहिलो पञ्चवर्षीय योजना समाप्त भएर दोस्रो पञ्चवर्षीय योजना बनाउने काममा सरकार रहेकोले झन्डै २५ लाख जनसङ्ख्याले लाभ लिने गरी बजेट बनाउनुपर्ने उनको भनाइ छ। बहु वर्षीय योजनाका नाममा स्रोत र आवश्यकतालाई ध्यान नदिँदा समस्या भएको भन्दै मुख्यमन्त्री अधिकारीले सरकार परिवर्तनको समयमा आर्थिक अनुशासन तोडेरै काम भएको समेत दाबी गरेका छन्।

‘बहु वर्षीय योजनाका नाममा, नेताहरूको पहुँचको भरमा, आवश्यकता छ कि छैन, स्रोत छ कि छैन नहेरी, जाँदा–जाँदै साथीहरूले वित्तीय अनुशासन नियमलाई कार्यान्वयन नगरेरै काम भएका छन्’ मुख्यमन्त्री अधिकारीले भने, ‘भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका सचिव र मन्त्रीलाई समेत राखेर कुरा गरेको छु। झन्डै ३२ अर्ब भन्दा बढीको बजेट बनाउन सक्दासक्दै होला अनि आधा भन्दा बढी समय त्यहीँ खर्च हुन्छ। नयाँ काम हामीले केही गर्न नसक्ने गरी बोझ थुपार्न खोजिएको छ।’

चालु आयोजना पुरा नहुने, नयाँ योजना सुरु गर्न नसक्दा सरकारको औचित्यमाथि नै प्रश्न खडा हुने भएकोले त्यसलाई ध्यान दिएर आफूले काम गर्न खोजेको उनले बताएका छन्।

मुख्यमन्त्री अधिकारीले पर्यटनको राजधानी समेत रहेको गण्डकी प्रदेश पर्यटनका दुई महत्त्वपूर्ण विषयवस्तु प्रकृति र संस्कृतिमा धनी प्रदेश रहेको बताए। गण्डकी प्रदेशमा भएका सम्पदालाई बलशाली बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्दै यिनीहरूको महत्वलाई अझ व्यापक बनाएर नयाँ पुस्तालाई देश र जनताप्रति आस्था जगाउने खालका काम आफू नेतृत्वको वर्तमान सरकारले गर्ने उनको दबी छ।

ऊर्जामा अन्य प्रदेशभन्दा गण्डकी अगाडि रहेको भन्दै उनले वैकल्पिक ऊर्जा, हाइड्रो लगायतबाट समेत राम्रो लाभ लिन सकिने बताए। प्रदेशमा भएका कृषि उपजलाई आन्तरिक बजारीकरण गर्ने तथा यहाँका उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा लैजान काम गर्ने पनि अधिकारीले बताएका छन्।

‘बहुआयामिक महत्वका जडीबुटीहरू हामीसँग छन्। तीनलाई हामीले एग्रो फरेष्टमा परिवर्तन गर्ने, परम्परागत कृषि प्रणालीलाई व्यावसायिक गर्ने, यान्त्रिकीकरण गर्ने र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्था ल्याउनुपर्छ' मुख्यमन्त्री अधिकारीले भने।

आइतबार प्रदेश सभामा विश्वासको मत लिन लागेका उनले आफूले सहज रूपमा विश्वासको मत प्राप्त गर्नेसमेत दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.