|

काठमाडौं :  कानुन,  न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री गिरीले मिडिया काउन्सिल लगायतका मिडियासँग सम्बन्धित कानूनहरु छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिए। श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने मन्त्री गिरीको भनाइ थियो।

उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरुसँगै महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औँल्याए।

मन्त्री गिरीले भने, ‘श्रमजीवि पत्रकार ऐन बन्यो। कार्यान्वयन भएको छैन। यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो? यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु। अब मिडिया काउन्सिल विधेयकको कुरा छ। यसको अलवा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरु छन्। ती विधेयकहरुको अवस्था हेरेर त्यसलाई छिटो समितिहरुमा लैजाने, समितिहरुबाट छिटो टुंग्याउने, अगाडि बढाउने कुराको सन्दर्भमा पनि मैले अलिकति विशेष ध्यान दिएर काम गर्ने साथीहरुको बीचमा पनि म अनुरोध गर्न चाहन्छु। अब मिडिया क्षेत्रका लागेका साथीहरुको न्यूनतम पारिश्रमिक अब रिभ्यु हुनुपर्‍यो। त्यसका लागि केही कामहरु भएका छन्। न्युनतम पारिश्रमिकको स्केल बढाउने कुरामा मैले पनि मेरो ठाउँबाट गर्ने योगदान गर्नेछु। त्यसका लागि म पनि गम्भिरतापूर्वक लाग्नेछु। म साथीहरुलाई यो कुरा पनि राख्न चाहन्छु।’

मन्त्री गिरीले पत्रकारहरुको सामाजिक सुरक्षाका विषयमा पनि सरकारले विशेष ढंगले सोच्नुपर्ने बेला आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.