काठमाडौँ : कोभिड महामारीको समयमा अनलाइनमार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिने भएको छ।
उक्त महामारीको समयमा लामो समयसम्म घरमा बसेर विदेशी मेडिकल कलेजमा पढेका विद्यार्थीहरूले हालसम्म उक्त समयमा गरेको अध्ययनको मान्यताको बारेमा अहिलेसम्म अन्योल रहेको थियो तर हालै मात्रै काउन्सिलको पूर्ण बैठकले अनलाइन कक्षा लिएका विद्यार्थीलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) दिने कि नदिने भन्ने विषयमा नयाँ निर्णय गरेको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार स्नातक (एमबीबीएस तथा बीडीएस) तहको विषयमा गत २३ डिसेम्बर २०२३ मा काउन्सिलले जारी गरेको सूचनानुसार नै ६ महिना अनलाइन कोर्सलाई मान्यता दिने निर्णय भएको बताएका छन्।
उक्त अवधिभन्दा बढी कोभिड अवधिभर अनलाइन कक्षा लिई कोर्स सम्पन्न गरेर सम्बन्धित कलेजबाट प्रमाणपत्र समेत लिएर आएका विद्यार्थीलाई फेब्रुअरी २०२० देखि डिसेम्बर २०२२ सम्म जति समय अनलाइन कक्षा लिएको हो र उक्त समयमा नेपालको स्वीकृति प्राप्त १०० शय्या वा त्योभन्दा बढी शय्या भएका अस्पतालमा अध्ययन वा तालिम गरेपछि लाइसेन्स दिने निर्णय भएको छ। तर बेसिक साइन्स कोर्सको हकमा अनलाइन गरे मात्र पुग्ने निर्णय गरिएको काउन्सिलका रजिष्ट्रार डा. देवले बताए।
‘लामो समयदेखि कोभिडको समयमा अनलाइन माध्यमबाट विदेशी मेडिकल कलेजहरूमा अध्ययन गरेका विद्यार्थीहरूलाई मान्यता दिएर लाइसेन्स परीक्षामा समावेश गराउने वा नगराउने भन्ने विषयमा अन्योल भएको थियो तर हालै मात्रै हामीले फेब्रुअरी २०२० देखि डिसेम्बर २०२२ सम्म जति समय अनलाइन कक्षा लिएको हो र उक्त समयमा नेपालको स्वीकृति प्राप्त १०० शय्या वा त्योभन्दा बढी शय्या भएका अस्पतालमा अध्ययन वा तालिम गरेपछि लाइसेन्स दिने निर्णय भएको छ‘‚ डा. देवले भने।
यो निर्णयसँगै कोभिडकालमा विदेशी कलेजमा भर्ना भएका तर अनलाइन कक्षा लिएका थुप्रै नेपाली विद्यार्थीलाई राहत पुगेको छ। अघिल्ला ब्याच, २०२४, २०१५, २०१६ ब्याचका विद्यार्थीहरूको हकमा पहिले नै निर्णय भएको हो तर पछि भर्ना भएका विद्यार्थीमा पनि समस्या थियो।
नेपालमा कोभिडकालमा चीन, बंगलादेश, फिलिपिन्स लगायतका थुप्रै देशका मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि भर्ना भएका नेपाली विद्यार्थीहरूले अनलाइन कक्षामार्फत पढ्नुपर्ने बाध्यतामा थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।