|

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला मंचलाई पानी नजम्ने र आकासे पानी पुनर्भरण गर्न सकिने बनाउने भएको छ। 

त्यसका लागि महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङको काम थालेको छ।​ काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहबरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन्।

‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍यौं। त्यसको भोलिपल्टैबाट काम थालिएको छ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने,‘हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ।’

खुला मञ्चमा हुने कामको नतिजाका आधारमा अन्य योजनामा पनि सम्झौता गर्ने उनको भनाइ छ। 

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इञ्जिनियरहरू मञ्च पुगेका थिए। 

नेपाल पूर्वाधार निर्माण कम्पनी वि. सं. २०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीको सञ्चालक समितिमा अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरी ४ वटा मन्त्रालयको प्रतिनिधित्व छ। 

खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ। चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ। 

सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि बर्खाको पानी भेल भएर बग्दैन,जमिनमुनी प्रवेश गर्छ।  

महानगरपालिकाले गएको माघ महिनामा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुङ्गा टिप्न लगाएको थियो। 

काठमाडौँ टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुल्लामञ्चको रत्नपार्क तर्फको खण्डमा बारेर बसपार्क चलाइएको थियो। २०७२ सालको भूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका लागि निर्माण सामाग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रुपमा विकास गरिएको थियो। 

अहिले खुला मञ्चभित्रका सबै संरचना हटाइसकिएको छ। यसलाई मौलिक दुबो रोपेर आकर्षक खुला स्थानका रुपमा विकास गर्ने  योजना रहेको महानगरपालिकाले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.