|

काठमाडौँ : गुन्द्रुक! भन्ठान्नुहोला मान्छेले खाने तर होइन। गाइवस्तुले खाने 'घाँसे गुन्द्रुक'। फेरि साेच्नुहोला, 'घाँसको पनि गुन्द्रुक?' हो, त्यही गुन्द्रुक विदेशमा लोकप्रिय हुँदा धेरै नेपाली किसान बेखबर छन्। तपाईं छक्क पर्नुहोला तर सत्य यही हो। 

दुई प्रकारका गुन्द्रुक अहिले व्यवसायिक रुपमा कृषिकर्म एवं पशुपालन गर्नेहरूमाझ प्रिय बन्दै गएको छ। नेपालमा घाँसको गुन्द्रुक दुई प्रकारले बनाइन्छ, जसलाई 'साइलेज र हेलेज' भन्ने गरिएको छ।

ताजा घाँसको अभाव हुने समय र ठाउँमा यो निकै प्रभावकारी मानिन्छ। यसको बनाउने प्रक्रिया पनि मान्छेले खाने गुन्द्रुक झैँ हुन्छ। विज्ञहरू ताजा घाँसको तुलनामा यो निक्कै लाभदायक हुने बताउँछन्।

के हो साइलेज/हेलेज ?

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डाक्टर शंकर बर्सिल्लाका अनुसार, खासगरी मकै र मकैजन्य घाँसहरूलाई काटेर अलि–अलि ओइलाएपछि हावा नछिर्ने गरी प्याक गरेर साइलेज बनाइन्छ। 

मकै र मकैजस्तै देखिने घाँसको साइलेज निक्कै राम्रो मानिन्छ।  ‘मकै उत्पादन धेरै हुने, काटेर प्याकिङ्ग गर्न सजिलो, जहाँ र जहिले पनि बीउ उब्जाउन सकिने भएकाले नेपालमा मात्र नभई अन्य देशमा पनि मकै साइलेजका लागि प्रचलित छ’, बर्सिल्लाले भने ।

साइलेज बनाउने अवधि भने मौसममा भर पर्छ। जाडोको समयमा तापक्रम कम हुने भएकाले घाँसलाई साइलेज वा हेलेज बनाउ समय लाग्छ तर गर्मीमा १५ दिनमै तयार हुन्छ। 

घाँसलाई टुक्र्याएर प्याक गर्ने र त्यसमा अमिलोपना आएपछि साइलेजमा रुपान्तरण हुने डा. बर्सिल्लाले बताए।

दुधे मकैको बोटसँगै प्रशस्त मात्रामा कार्बोहाइड्रेट र पानी भएको ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पोबाट साइलेज बनाउन सकिन्छ। 

घाँसको साइलेज खैरो हुनुपर्छ, हरियो भयो भने राम्रो मानिँदैन। अमिलो गन्ध आएर खैरो भयो भने साइलेज राम्रो भएको मानिन्छ। 

​घाँसलाई प्रशोधन गर्ने क्रममा साइलेजलाई भन्दा थोरै फरक गरी हेलेज बनाइन्छ। हेलेज परालजस्तै बनाएको सुख्खा घाँसको गुन्द्रुक हो। हेलेज मकै वा मकैजन्य मात्र नभई जुनसुकै घाँसबाट बनाउन सकिन्छ। 

हेलेजमा ओसिलोपना कम हुन्छ। काटेर सुकाएको घाँसबाट र परालबाट समेत हेलेज तयार गरिन्छ। हेलेजमा सुख्खापना ६० देखि ७० प्रतिशत हुने गर्दछ। हेलेजको गुणस्तर भने साइलेजभन्दा कम हुने उपप्राध्यापक बर्सिल्लाले बताए। 

पौष्टिकताका हिसाबले लाभदायक

​साइलेज र हेलेज खुवाउँदा १५ दिनदेखि एक महिनासम्म खुवाउन सकिन्छ तर सानोमात्रामा छ भने खोलेपछि खुवाउन पर्छ, त्यहाँ हानीकारण व्याक्टेरिया वा हावा छिर्न हुँदैन।

‘ताजा घाँसमा भन्दा साइलेजमा जनावरको पेट–सातपत्रेभित्र पाचनक्रिया सकिएपछि जे–जति कम्पाउन्डहरु निस्कन्छ, त्यो सबै साइलेजमा पहिले नै निस्केर बसेको हुन्छ', बार्सिल्लाले भने–‘ताजा घाँसमा पाइने (टक्सिक) विषालु पदार्थहरु  पुरै नियन्त्रण हुन्छ, साइलेजमा विषाक्त पदार्थहरु फर्मेन्ट हुँदा डि–टक्सिफाइग हुन्छ, जुन सबैभन्दा राम्रो पक्ष हो।’ 

उनका अनुसार सबै जनावरलाई खुवाउन मिल्ने साइलेज घाँस नपाउने बेलामा धेरै लाभदायक मानिन्छ र ताजा साइलेज खुवाउन सके झन् राम्रो हुन्छ। 
‘यो पनि अरु सामान्य घाँस पराल खुवाएजस्तै हो, साइलेज खुवाएर मात्र दुध बढ्ने भन्ने चाहिँ छैन’, बर्सिल्लाले भने–‘साइलेज/हेलेज अन्य देशहरूमा पनि निर्यात गर्न सकिने, ठूलो परिमाणमा उत्पादन हुनसक्ने, व्यवसायिक रुपमा लैजान सकिने र साना–ठूला सबै पशुपालन व्यवसायमा निक्कै काम लाग्ने वस्तु हो।’

सर्वसाधारण किसानहरूमा भने घाँसको गुन्द्रुक बनाउने प्रविधि र यसको फाइदाबारे पर्याप्त जानकारी भएको पाइदैन। 

साइलेज भुसा सप्लायर्स चपुर रौतहटका प्रोपाइटर लक्ष्मण ढकाल भन्छन् –‘सरकारका तर्फबाट कुनै सेवा सुविधा छैन, व्यक्तिगत रुपमा किसानसँग ३ देखि ५ रुपैँया किलोमा मकैको बोट किनेर साइलेज बनाई बेच्ने गरिएको छ। धेरै किसानहरुले यसबारेमा जानेका छैनन्। व्यवसायिक रुपले पशुपालन गर्नेहरूले भने खुवाइरहेका छन्। उनका अनुसार कम्पनी मूल्य १० रुपैँयामा ढुवानी भाडा जोडेर साइलेज बिक्री गरिन्छ। 

तिब्बत लगिन्छ घाँसको गुन्द्रुक

सन् २०२२ मा नेपाल सरकार र चीनको सिगात्से सहरबीच भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यवसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा घाँसको गुन्द्रुक बनाई तिब्बत पठाउँछ। 

कम्पनीले किसानसँग घोगा लाग्ने बेलाको मकैको सिंगो बोट नै किन्ने गरेको छ। किसानले मौसमी मकै रोप्दा प्रति कठ्ठा ४ देखि ५ हजार र बेमौसमी मकैमा ९ हजारदेखि माथि पाउँछन्। 

साइलेज चीनमै भन्दा यहाँबाट बनाएर लैजाँदा फाइदा हुने भएपछि व्यापारीले नेपाल रोजे। धेरै जनसंख्या भएको चीनमा ठूलो फार्मिङ्गको सम्भावना त्यसमा पनि धेरै जग्गामा मेसिनले खेती गर्दा सस्तो पर्ने भए पनि साईलेज बनाउने र पुर्‍याउनुपर्ने ठाउँबीचको दूरी  नेपालबाट पर्नेभन्दा धेरै लामो भएपछि व्यापारीले यहीँ प्लान्ट खोलेर व्यवसाय थालेका थिए। 

पशु सेवा विभागले चिनियाँ कम्पनीलाई सहजीकरण गरिदिएको छ। चीनमा निर्यात गर्दा पूरा गर्नुपर्ने दुवै मुलुकको मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न विभागले अनुमति दिएको हो।

विभागले उत्पादन भएको क्षेत्रमा लाग्न सक्ने रोग, मल, खाद्यको व्यवस्थालगायत अन्य विविध पक्षलाई हेरेर अनुमति दिएको छ। पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार साइलेज र हेलेज तिब्बतमा निर्यात भइरहेको छ भने अन्य निजी प्लान्ट, फार्महरुले घाँसको गुन्द्रुक बनाएर मुलुकभित्रै बिक्री गरिरहेका छन्।

चितवनमा सहकारीहरूले पनि साइलेज उत्पादन गरिरहेका छन्। ‘चितवनमा चाइनिज कम्पनीले प्लान्ट चलाइरहेको छ, उसले नेपाली किसानले उत्पादन गरेको मकै बनाएर तिब्बत पठाउँछ। 

यसको गुणस्तर, उत्पादन प्रक्रिया, सर्टिफाइड गर्नेलगायतका कुरामा हामीले गरेको सहजीकरण मात्र हो’, उनले भने। 

तिब्बतमा वर्षको तीन/चार महिना हिउँ पर्छ र त्यो समयमा चौँरी, च्याङ्ग्रालगायतलाई प्रशोधित घाँस खुवाइन्छ। घाँसको गुन्द्रुक बनाउने प्रविधि पुरानै भए पनि किसानहरूले यसको बारेमा बुझ्न सकेका थिएनन्। पछिल्लो समयमा भने चितवनसहित झापा, मोरङ, दाङ, नवलपरासीलगायतका जिल्लामा किसानहरू यो प्रविधिमार्फत व्यवसायिक हुन थालेका छन्।

‘गतवर्ष देशका डेढ सयभन्दा बढी पालिकाहरूमा यसको प्रवद्र्धन गर्ने, घाँसको उत्पादन बढाउने, साइलेज बनाउने कार्यक्रम राख्यौँ', ढकालले भने, 'साइलेज उत्पादन गर्न चाहने किसानलाई मेसिन किन्ने, तालिम दिने, बजार खोजिदिने लगायतका कार्यक्रमहरू तिनै तहका सरकारबाट भएका छन्।’

नेपाली किसानहरूको जीविकोपार्जनमा यसले ठूलो मद्धत गर्न सक्छ तर यसलाई थप व्यवसायिक बनाएर अन्य देशहरूमा समेत निर्यात बढाउन सकिएको छैन।

‘यसको गुणस्तर, परिणाम, मूल्यलगायतका प्रक्रिया पूरा गरेर यसलाई व्यवसायिक गर्न त सकिन्छ', उनले भने–‘अन्य देशले उत्पादन गरेको भन्दा सस्तो, सुलभ, गुणस्तर, छिटो गर्न सके राम्रो तर सबै प्रक्रिया पुर्‍याउनु हामीजस्तो अल्पविकसित देशका लागि चुनौती बनेको छ। सरकारसँग सबै कुरा गर्न प्रशस्त लगानी, जनशक्ति, क्षमता नहुँदा यसबाट प्रशस्त सम्भावना हुँदाहुँदै पनि समस्या देखिएको हो।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.