|

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकताबद्ध रहेको निष्कर्ष निकालेको छ। सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाह फैलाइएको भन्दै पार्टी एक ढिक्का रहेको निष्कर्ष निकालेको हो।

आइतवार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने भनेर टिप्पणी शुरु हुन थालेको थियो। 

सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिए। 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य डा. वेदुराम भुसालले पार्टीका विषयमा अनावश्यक रुपमा बाहिर हल्ला मात्रै चलाइएको बताए। उनले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताए। 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साही गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताए। 

उनले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.