|
फाइल तस्वीर

काठमाडौँ : नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउन बाध्य हुनु परेको दावी गरेका छन्।

निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार सिंहदरवार पुगेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जाने आफूहरु निष्कर्षमा पुगेको बताए।

अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए।

‘कुनै पनि घटना एकैचोटी हुँदैन‚ त्यसका पछाडि कारणहरु हुन्छन्। महाधिवेशनमा नै लाठे रोपाईँ होला जस्तो देखिएपछि अब धेरै असन्तुष्टि, अन्तरविरोध बढाएर पार्टीमा रहिरहनु राम्रो हुँदैन‚ बरु अलग भएर प्रितीकर सम्बन्ध, सुसम्बन्ध, हार्दिकता रहीरहनु बेस हुन्छ‚’ उनले भने, ‘एकैठाउँमा बसेर विवाद, बहस गर्ने, अब चाहीँ त्यो खालको असन्तुष्टिहरु पाल्ने स्थिति हुनु भन्दा राम्रो हो। त्यसकारण आ-आफ्नो ढंगले अघि बढौँ भनेर हामीले दल दर्ताको निर्णय लियौँ।’

अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर पनि गरे। सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिने भए पनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको तर्क थियो। 

‘हामीले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रुपमा प्रत्यक्ष, परोक्ष रुपमा जोडिन जान्छ तर सत्ता राजनीतिको कारण होइन यो विभाजनको‚’ उनले भने‚ ‘सत्तामा नै छौँ नि हामी। हाम्रो वनमन्त्रीजी अहिले सरकारमा हुनुहुन्छ। हामी सत्तामा नै छौँ। यो कुरालाई अहिले हाम्रो यो दल दर्तासँग जोड्न आवश्यक छैन। शिकारी हराउने, चितुवा कराउने भएजस्तो हुने गर्छ कहिलेकाहीँ।’

अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरु बेखबर रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.