|

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन्।

मंगलवार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताएका हुन्। उनले उपप्रधानमन्त्री एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी काँग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेमा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए। उनले अरूलाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुनु राम्रो नहुने बताए। उनले बैठकले आगामी संसद्को बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताए।

बर्तौलाले भने, ‘समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेमा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत काम गर्ने कुरा अस्वीकार्य छैन। फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिकेन्द्रित गरिएको छ, त्यसमा हाम्रो सहमति छैन।’

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसद्‌मा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.