|

 विराटनगर :  मलाई चिन्नुभयो? यो प्रश्नमा एकै छिन्  टक्क उभिएर उनले जवाफ फर्काइन्,‘अँह, कहाँबाट चिन्नु।’

मानवसेवा आश्रमकी प्रतिनिधि गंगा मगरले  सहजीकरण गर्दै  सुजता भनिसक्दा एकै वाक्यमा उनले भनिन्,‘ए...... लिम्बू मलाई डायरी दिनुभएको थियो है ? मैले त लेख्न छोडे तपाई लेख्दै हुनुहुन्छ ?’

यस्तै प्रश्न र उत्तरबीच शिवाकुमारी राईसँग कुराकानी अगाडि बढ्यो। टोलाएर बस्ने शिवा आजभोलि अलि बोल्न थालेकी रहेछिन्।

 तीन वर्ष अगाडि मानवसेवा आश्रममा भेट्दा उनी आफैले आफैंलाई मौनताभित्र गुम्साएकी थिइन्। ९ महिनाको बच्चा काखमा च्यापेर आश्रम प्रवेश गरेकी उनी त्यो समय आमा हुनुको महत्व र सन्तान प्रतिको माया नै  महसुस गर्न सक्ने अवस्थामा थिइनन्।

तर अहिले आमा हुनुको आभास, छोरी प्रतिको माया र जिम्मेवारी बुझ्ने भएकी रहेछिन्। छोरीको माया लाग्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्,‘मैले के नै गरेको छु र ? मैले जिम्मेवारी निभाएको भए पो सबै आश्रमले  गरिदिएको छ।’ 

तर, पनि उनलाई  छोरीको जिम्मेवारी कसरी वहन  गर्ने भन्ने प्रश्नहरूले पिरोल्ने गरेको गफैगफमा सुनाइन्।

सब ओभरसियर अध्ययन सकेकी उनी ‘करियर’ बनाउने उमेरको ‘टर्निङ पोइन्ट’ मा बुवालाई गुमाएकी रहेछिन्।  बुवा बितेको ७ वर्षपछि  आमा गुमाएसँगै विक्षिप्त बनेको उनले सुनाइन्। आमा उनको सबैभन्दा निकटको पात्र रहेछिन्।

भारतीय सेनाबाट अवकाश प्राप्त गरेका उनको बुवाको पेन्सनले नै घरपरिवार चलेको रहेछ।  तर, आमा पनि बितेपछि पेन्सन आउन बन्द भएसँगै आम्दानीको बाटो नै रोकिएको उनी सुनाउँछिन्।

 दैनिक जीवन  असहज भएपछि  केही सोँच्न  नै नसकेर बाटो बिराएको यात्री झैँ भौतारिएर भोजपुर छोडेको उनी सुनाउँछिन्।  ‘आफूसँगै पढेका साथीहरू अहिले पनि जागिरे छन्, मेरो त आमा बितेपछि सबै सकियो, केही सोच्न नै सकिन,’ उनी विगत स्मरण गर्दै भन्छिन्,‘ त्यसपछि केही विकल्प नै भेटिन यतिकै भौतारिँदा हिँडेँ।’

मानसिक रुपमा विक्षिप्त भएपछि भौतारिएर हिँडेकी उनी धनकुटामा आएर सामूहिक यौन हिंसामा परिन।   एक्लै सडकमा बिताएका हरेक रातहरू उनका लागि सहज भएन।  त्यही असहज रातले  दिनमा भेटिएका हरेक मान्छेहरूसँगको सम्बन्ध उनलाई  खासै पर्वाह छैन।

आमाको मुख हेर्ने दिन तपाईंको प्रिय पात्र आमाको याद आउँछ ? उनले भनिन्,‘ पहिले आउँथ्यो, अहिले त आउन छोड्यो सम्बन्ध भनेको यस्तै रहेछ।’

बल्ल आमा हुनुको महत्व बुझेकी शिवालाई सम्बन्धको गहिराइमा खासै डुब्न चाहनन्।   जीवनमा भोगेका अनेकन भोगाइहरूले पनि होला सायद सम्बन्धको डोरी उनको जीवनबाट सधैँका लागि चुडिएको हुनसक्छ।

यद्यपि आमाको मुख हेर्ने दिनको सन्दर्भमा सुम्निमाका लागि  आमाको मुख हेर्ने कार्यक्रम गरिदिने तयारीमा रहेको आश्रमका प्रतिनिधिहरू  बताउँछन्।

 छोरीको भविष्यका लागि भए पनि  शिवा पूर्णरुपमा स्वस्थ्य भए पुनः क्याम्पस पढाउने योजना पनि रहेको आश्रमका प्रतिनिधि   गंगा मगर बताउँछिन्। 

आमाको मुख हेर्ने दिनको कार्यक्रमका लागि  आश्रममा खाना खुवाउने दाताहरूको ताँती लाग्दै  गर्दा  शिवाकुमारी जस्ता धेरै आमाहरू आश्रमको प्रतिनिधिको सन्तान भएर  बाँचेका छन्। 

कोही छोराले पैसा पठाउलान र घर बनाउला भन्ने आशमा आश्रमको गेट तर्फ हेर्दै टोलाउँछन्।  आश्रममा आउने दाताहरूले पनि सन्तान भएर पनि नभएको जस्तो जीवन बाँचेका आमाहरूको अवस्था हेर्दा  आफ्नो सन्तानले कहिल्यै साथ नछोडोस् भन्ने अपेक्षासहित कामना गर्ने गरेको आश्रमका कोशी प्रदेश संयोजक नवराज केसीले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.