|

काठमाडौँ : सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले सहकारीलाई पुँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन्।

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताए।

‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्षण समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने बताए। अहिले सहकारीमा नीतिगत तथा संस्थागत संरचनामा समस्या धेरै देखिएको उनको बुझाइ छ। 

‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ। अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ। मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान छ। ९३ हजार ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ। तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’, उनले भने

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन्। लेखा समितिले आफ्नो जिम्मेवारी वहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासीनता, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सहकारी पिरोलिएको घिमिरेले उल्लेख गरे।

कोभिड महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विनाधितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारिता नहुनु, ऋण जोखिमलाई ध्यान पुर्‍याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिनाधितो ५ अर्बसम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए। 

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रक्रिया रोक्नुपर्छ। यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औँल्याए।

​कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मुख्य गरी कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.