|

रौतहट : रौतहटमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विना अधिकांश अटो रिक्सा निर्बाध रूपमा चल्ने गरेका छन्। पछिल्लो समय जिल्लाका शहर बजारदेखि गाउँघरसम्म जान सबभन्दा सस्तो र भरपर्दो सवारी अटो टेम्पु र इ–रिक्सा बनेको छ।

जिल्लाको शहर बजारदेखि ग्रामीण भेगसम्म अटो रिक्साका कारण आवतजावत गर्न सबैलाई सहज भएको छ तर अधिकांश अटो रिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नै हुँदैन।

जिल्लामा अटो रिक्सा चलाउने लगभग ६० प्रतिशत चालकसँग सवारीचालक अनुमतिपत्र नहुँदा दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको छ। जिल्लाका प्रमुख शहर चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, गौर, समनपुर लगायत क्षेत्रमा चल्ने अधिकांश चालकसँग चालक अनुमतिपत्र नभएको पाइन्छ।

अधिकांश चालकले अनुमतिपत्रविना नै अटो रिक्सा चलाउने गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटले नियमनमा कडाइ गरेको छ।

चालक अनुमतिपत्रविना इ–रिक्सा चलाउने २३ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट र ट्राफिक प्रहरी कार्यालय गौरबाट संयुक्त रूपमा खटिएको टोलीले २३ जना इ–रिक्साचालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।

नियन्त्रणमा लिएका इ–रिक्सा तथा टेम्पु चालकलाई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरी यथाशीघ्र सवारीचालक अनुमतिपत्रको आवेदन फाराम भर्न लगाई छाडिएको रौतहटकी प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.