|

काठमाडौँ : नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा ४७ वर्षीय सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–२ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै ४२ वर्षीय साविक कर्थली गाविस–१ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका–१ की १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए। उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ।

यो गिरोहले करिब १५ जना नेपालीलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताए।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा स्रोत नखुलेको ९८ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको बताए। उनले काठमाडौं महानगरपालिका–५ मालीगाउँ क्षेत्रमा मिलन विक समेतका केही व्यक्तिलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए।

उनले पक्राउ पर्नेमा २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक रहेको बताए। उनीहरू दुवैजना रूपन्देही सियारी गाउँपालिका–७ का रहेको बताए।

उनीहरूका साथबाट ९८ लाख स्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारीसाधन बरामद भएको बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.