|

काठमाडौं : राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन्।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीको आज बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताए।

उनले संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गरे। उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘हामीले पटक पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँलाई भेटेका छौँ। हामीले स्वयं गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ। तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् न। अर्बौं घोटालाको कुरा छ। अर्बौं अपचलनको कुरा छ, तपाईंसँग छ की छैन हामी जान्दैनौँ तर कुरा त उठ्यो नि त। महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ। पत्र। प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो। कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो। मिल्दैन नि किन गरेको यस्तो ? कसको प्रभावबाट हुन्छ। संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन। हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ।’

नेता सिटौलाले यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.