काठमाडौं : पत्रकार र मोडलका रुपमा परिचय बनाएका जीवन खड्काले नयाँ परिचय थपेका छन्- उपन्यासकारका रुपमा। खड्काको उपन्यास ‘ओझेल’ सार्वजनिक भएको छ।
'ओझेल'को शनिबार सर्वनाम थिएटरमा समिक्षक समिरबाबु कट्टेल, सञ्चारकर्मी कला सुब्बा र लेखक तथा पत्रकार डब्बु क्षेत्रीले विमोचन गरेका हुन्। उपन्यास समकालिन नेपाली समाजको विषयवस्तुमा टेकेर लेखिएको समीक्षक समिरबाबु कट्टेलले बताए।
यस उपन्यासमा गाउँबाट सहर पसेको युवा र जर्मनीबाट नेपाल घुम्न आएकी युवतीबीचको प्रेम र विछोडको कथा छ। 'प्रेममा आधारित उपन्यास भए पनि ओझेलमा सामाजिक कुरीति, द्वन्द्वकालको चित्रणदेखि पश्चिमी नेपालको हलिया र कमैयाको समस्यालाई प्रस्तुत गरिएको छ,' उपन्यास सार्वजनिक गर्दै कट्टेलले भने।
कला सुब्बाले उपन्यासले युवा-युवतीको प्रेमिल घटनालाई उजागर गर्न सफल भएको बताइन्। उनले भनिन्, “साहित्यकार बन्न रुचि, वास्तविकता र अरूका समस्या समाधानका लागि लेख्नुपर्ने कुराको लेखकले ख्याल गरेरै लेखेका छन्। यो प्रेम उपन्यास हो तापनि यो समाजसँग जोडिएको छ।”
लेखक तथा पत्रकार डब्बु क्षेत्रीले गाउँबाट सपना बोकेर शहर पसेको युवाको भोगाइ र राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको बताए। उनले भने, “बोक्सीको आरोपमा नारीमाथि गरिएको शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ। द्वन्द्वकालीन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ।' उपन्यासमा पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारे व्याख्या गरिएकोले ऐतिहासिक परिवेश पनि समेटेको क्षेत्रीले बताए।
शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३१५ रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।