|

काठमाडौं : केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना बढ्दै गइरहेका छन्। पहाडी क्षेत्रमा पहिरोका कारण मृत्यु हुने र तराईमा बाढीबाट वस्ती नै डुबानमा पर्ने घटना बढेका छन्। 

मध्य साउन मनसुन सक्रिय हुने समय हो। तर यो वर्ष भने विगतका भन्दा बढी पानी परेको मौसमविद राजु प्रधानांग बताउँछन्। नेपालमा अहिले दुईवटा मौसमी प्रणाली सक्रिय भएकोले वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसम विद् प्रधानांगले भने, 'नेपालका मध्य र पूर्वी भागमा न्यून चापीय रेखा नेपाल नजिक आएको छ र न्यून चापीय प्रणाली सक्रिय भएको छ। त्यसैले पानी बढी परेको हो।' उनले देशभर मौसममा बदली आएको र मध्य तथा पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय भएको बताए।

प्रधानांगले काठमाडौंमा छिनछिनमा ठूलो वर्षा हुने क्रम अझै दुईदिनसम्म चल्ने सम्भावना रहेको बताए।

मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी बाराको सिमरामा परेको छ। जहाँ १२६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, जनकपुरमा ११७ मिलिमिटर, भैरहवामा ७६ मिलिमिटर पानी परेको छ भने विराटनगरमा ५१ मिलिमिटर पानी परेको छ।  

वर्षा अझै दुईदिन सकृय रहने

पछिल्लो समय वर्षा सकृय भएपछि नेपालका अधिकांश नदीहरुमा बाढी आउने सम्भाना रहेको छ। पहाडमा पहिरो जाने र तराईमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखामा कार्यरत जलविज्ञ विनोद पराजुलीले बताए।

'पूर्वदेखि मध्य नेपालमा धेरै बहाव हुने सम्भावना छ। भेरी, कन्काइ, कममा, बागमती, नारायणी लगायत बुटवल आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको छ', उनले भने, 'मध्य तराई र पूर्वी तराईको क्षेत्रलाई उच्च जोखिममा राखेका छौं।'

शनिबार बिहानसम्ममा बाँके र बर्दीयामा ठूलो पानी परेकोले पश्चिम राप्ती र बबइमा बाढीले जोखिमको सीमा नाघेको पराजुलीले बताए। उनले भने, 'पश्चिम राप्ती र बबइमा पानीको सतह खतरा तहभन्दा २ मिटर बढी छ। राती नै सूचना दिइसकेका छौं।' तराइका जिल्लाका स्थानीयलाई मोबाइलबाट सूचना पठाइएको उनले बताए।

पूर्वी पहाड र पश्चिमी पहाडमा ठूलो वर्षा नभएकोले कोशी, कर्णाली र गण्डकी जस्ता ठूला नदीहरुमा भने बाढीको सम्भावना नरहेको उनले बताए। उनले भने, 'बाढी आउने सम्भावना भयो भने १२ घण्टा अगाडि नै सूचना दिनेछौं।' उनले मौसमको सक्रियता अझै लम्बिने भएकोले पहाडमा पहिरो जाने र तराई डुबानमा पर्ने सम्भावना रहेको बताए।

पहाडमा पहिरो तराइमा बाढी

लगातारको वर्षाका कारण पहिरो जाँदा सिन्धुलीको कमलामाई नगरपालिका ६ का उदयबहादुर खड्काको पत्नी र तीन छोराछोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा दुर्गाकुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काको शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्था नै पुरेको हो।

त्यस्तै पाल्पामा पहिरो खसेर गुडिरहेको मोटरसाइकल पुरिदा तानसेन नगरपालिका ३ का ३५ वर्षीय गृहपति शाक्यको मृत्यु भएको छ भने सोही ठाउँका ५० वर्षीय अजय श्रेष्ठ घाइते भएका छन्।

मोरङमा पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको छ। पहिरोले घर पुरिदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको छ भने मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयले उद्दार गरेर बचाएका छन्।

शुक्रबार रातभर परेको वर्षाले खाडो नदीमा आएको बाढीले पश्चिमी तटबन्ध भत्काउदा बाढीको पानी गाउँ पसेर राजविराज नगरापालिका १५ स्थित देरीभरुवा गाउँ जोखिममा परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरीको टोलीले स्थानीय बृद्ध बृद्धा, बालबालिकासहित ५० जनालाई स्थानीय सामुदायिक भवनमा सारेको छ।

पूर्वी तराई र मध्य तराईका जिल्लाका स्थानीय भने लगातारको वर्षाले डुबानको समस्या झेलिरहेका छन्। झापाको दक्षिणी क्षेत्र डुबानको उच्च जोखिममा रहेको बताइएको छ। झापाका माई, रतुवा, मेची, कमल, विरिङ, अदुवा लगायत नदीहरुको बहाव उच्च रहेकाले बस्ती डुबानमा पर्ने उच्च खतरा रहेको छ। यी नदीहरुले खतराको सीमा नाघेको बताइएको छ। सप्तरीका अधिकांश बस्तीहरु डुबानमा परेका छन्।

वर्षाकै कारण पूर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ। नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो खसेपछि पूर्व पश्चिम राजमार्ग १० घण्टा देखि अवरुद्ध छ। शुक्रबार साँझ ८ बजे पहिरो गएको थियो।

डुबान र पहिरो गएका क्षेत्रमा सञ्चार, विद्युत सेवा अवरुद्ध भएको छ। डुबान र पहिरो पीडितको उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिइरहेका भएपनि वर्षाले उनीहरुलाई गाह्रो परेको छ। वर्षाकै कारण कतिपय स्थानको उडान स्थगित हुन पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.