|

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। नेकपा माओवादी केन्द्र निकट स्रोतका अनुसार सूचना तथा संचार मन्त्रीमा राम कार्की, उर्जा मन्त्रीमा जर्नादन शर्मा प्रभाकर, स्थानीय विकासमा हितराज पाण्डे, शिक्षामा डिआर पौडेल र कानुनमन्त्री सिरहाका अजयशंकर नायकलाई बनाउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले केही नाममा अझै छलफल भइरहेको र एक/दुई घण्टामा टुंगिने जानकारी दिए।

आइतबार बिहान पार्टीका शीर्षनेताहरुसंग परामर्श गरेर प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट मन्त्रीबन्नेहरुको नाम टुंगो लगाएका हुन्। स्थानीय विकास मन्त्रीको आकांक्षी रहेका प्रभू साहले अन्तिममा मन्त्री नबन्ने जानकारी प्रचण्डलाई गराएपछि साहको स्थानमा नायकलाई मन्त्री बनाउन लागिएको श्रोतले बताएको छ।

आफ्नो पार्टीको तर्फबाट मन्त्री बन्नेको टुंगो लागेसंगै प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

बेलुकीसम्म मन्त्रीपरिषद् बिस्तार गर्ने प्रचण्डको तयारी छ। साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएपनि अहिलेसम्म मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले मन्त्रीपरिषद् बिस्तारको तयारी भएपनि सत्ता साझेदार दल नेपाली कांग्रेस र अरु दलसंग छलफल भैरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले जिम्मेवारी पाएका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार कांग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ। त्यस्तै प्रधानमन्त्रीले राप्रपाका दीपक बोहोरालाई आपूर्तिमन्त्री र विक्रम पाण्डेलाई भूमिसुधार तथा व्यवस्था मन्त्री तथा नेकपा (संयुक्त) का जयदेव जोशीलाई जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.