“म पनि स्कुल जाने”, भुवनले एक दिन आफ्नो मालिकलाई भन्यो।
“स्कुलमा के हुन्छ र त्यस्तो? ब्यान–बेल्की मेरो सुर्ती माड्, दिउँसो भेडा चराउन जा। म तँलाई मन्त्रीकी छोरीसँग बिहे गरिदिउँला। ती स्कुल जाने ठिटाहरू रक्स्याहाका छोरी टिपेर भाग्छन्”, मालिक वीरबहादुरले भन्यो।
दिमागको सोझो र मनको इमानदार भुवनले मालिकको कुरा पत्यायो। उसको मालिक वीरबहादुरबाहेक संसारमा भुवनको कोही पनि थिएन। उसका बा क्षयरोगले बितेपछि र आमा कोसीतिर माछा मार्ने एउटा माझी केटो टिपेर हिँडेपछि नै वीरहबहादुरले उसलाई यहाँ ल्याएको हो। त्यो बेला भुवन फगत तीन वर्षको थियो।
दिनभरि भुवन भेडाका बथानसँग हिँड्थ्यो। भेडा कुनै पनि खर्कमा अडिन्नथे। बालीभरि कुद्थे र तिनीहरूलाई भेला पार्नु उसका लागि निकै ठूलो हैरानीको विषय बन्थ्यो। किसानहरू वीरबहादुरकहाँ गएर गुनासो गर्थे। हुन पनि उनीहरूको फापरबारी ध्वस्त पारेका थिए भेडाले। बाटाको दायाँबायाँको बारीमा फापरका कलिला मुन्टा सब चुँडेर खाइसकेका थिए भेडाले।
ती सबै उजुरीकर्तालाई वीरबहादुर एउटै कुरा भन्थे, “म भुवनको बिहे मन्त्रीकी छोरीसँग गरिदिन्छु। उसले ठेकापट्टा मिलाइदिन मन्त्रीलाई भन्दिन्छ।”
“मन्त्रीकी छोरी कस्ती छे, बुबा?” भुवनले आफ्नो मालिकलाई एक दिन सोध्यो।
“अप्सरा जस्ती छे”, वीरबहादुरले भन्यो। उसले थप्यो, “सुनकेस्रा छे। उनका कानबाट घाम र जून झुण्डिन्छन् र उनको केशराशिबाट संसारकै सबैभन्दा सुगन्धित अत्तरको बास्ना आउँछ।”
एघार वर्षको भुवनलाई सुन्दरता के हो भन्ने अलिअलि त थाहा थियो तर वीरबहादुरले गरेको वर्णन भने उसको कलिलो मगजका लागि अति नै अमूर्त हुनपुग्यो। दिउँसो भेडाका बथानका पछि जाँदा ऊ कुनै रूखको सियाँलमा बस्थ्यो, कटुसका पात टिप्थ्यो र आफ्नो मालिकले दिएको बलपेनले आफ्नो कल्पनाकी दुलहीको चित्र कोथ्र्याे। वीरबहादुरले नै उसलाई कखरा सिकाएको थियो र रातीराती कनिकुथी मुलुकी ऐन पढ्न लगाउँथ्यो।
उसले यसो गरिरहँदा भेडा भने दायाँबायाँका खेतमा पस्थे र बालीको टुप्पो चुँडेर खान्थे। भुवन भने आराले बाँसमा किरिङ्मिरिङ् धर्साधर्सी लेख्थ्यो र तिनै भेडालाई सुनाउँथ्यो। भेडा पनि टाउको तलमाथि हल्लाउँथे, मानौँ, उसका कुराको सौन्दर्यले उनीहरू छोइएका छन्।
“मन्त्रीकी छोरी कत्री छन्?” भुवनले एक दिन वीरबहादुरलाई सोध्यो।
“तँ कति वर्षको भइस्?”
“थाहा छैन। सोध्नलाई बुबाआमा हुनुहुन्न। हजुरले मलाई कहिल्यै बर्थडे केक किन्दिनुभा’को छैन। म कति वर्ष पुगेँ, थाहै छैन।”
गोठालाहरू बेलाबेला जन्मदिनको कुरा गर्थे र केक काट्ने कुरा पनि आफूहरूले सुनेको बताउँथे। भुवनले उनीहरूबाटै सुनेको थियो यी सब कुरा।
“एघार भइस् होला। त्यसो हुँदा, मन्त्रीकी छोरी दश।”
दश! पच्चीस भेडाको उसको बथानमा पाठा दशवटै त थिए। उसले बाँसमा लेखेको उसको पछिल्लो कवितामा दश हरफ नै थिए। दश सारै भाग्यमानी अंक हो भन्ने उसलाई लाग्यो।
“तर अर्को साल ऊ एघार वर्ष पुग्छे र म जस्तै भेडी गोठालो हुन्छे”, उसले सोच्यो।
“अर्को साल त ऊ भेडी गोठालो हुनेरै’छ”, उसले मालिकलाई भन्यो।
“मूर्ख! ऊ मन्त्रीकी छोरी हो। तँ जस्ती अभागिनी हो र? बरु ऊ एक महान गायिका हुनसक्छे।”
“गायिका?” भुवन चिच्यायो र उँचो स्वरमा एउटा गीत गाउन थाल्यो। भेडाले छिमेकीको बाली चुँडिरहँदा ऊ उत्तिसका रूखमा माथिसम्म चढ्थ्यो र उसले जानेकाहरूमध्ये सबैभन्दा मीठो गीत गाउँथ्यो, “सानु, कसको आँगन कुरेर बसौली, त्यै लाग्छ पिरलो।”
“मन्त्रीकी छोरी पनि यसरी नै गाउँदी हो”, साँझ घर फर्कंदै गरेका भेडाका बथानलाई ऊ भन्थ्यो। उसको गीतमा भेडाका घाँटीमा झुण्डिएको घण्टीको आवाज मिसिन्थ्यो र त्यो बथान संगीतकै चालमा घर फर्कन्थ्यो।
वीरबहादुरले भुवनका लागि भनेर एउटा छुट्टै कटेरो बनाइदिएको थियो, गोठनजिकै। आफू भने ठूलो घरको माथिल्लो तलामा सुत्थ्यो। रातभरि भेडाहरू नानाथरि आवाज गरेर कराइरहन्थे र भुवनको निद्रा पटक पटक टुटिरहन्थ्यो। एक दिन त हद भएपछि उसले मालिकलाई भन्यो, “म पनि हजुरसँगै माथि सुत्छु।”
“मन्त्रीकी छोरीलाई भेडाका गलाको घण्टीको धून मनपर्छ। तँ माथि सुत्न थालिस् भने उसले तँसँग बिहे गर्दिन”, वीरबहादुरले भन्यो।
“घण्टीको धून!” भुवनले दोहोर्यायो र आफ्नै कटेरोमा फर्कियो। ऊ रातभरि जागा नै बस्यो, घण्टीको धून सुन्दै र आफ्नी कल्पनाकी दुलही सम्झँदै।
“भोलि म लुहारकहाँ जान्छु र संसारकै राम्रो घण्टी बनाउन लाउँछु”, उसले निद्रामा झकाउँदै सोच्यो।
अर्को दिन बिहान निद्रा खुल्दासम्म उसले घण्टी बिर्सिसकेको थियो। ऊ भेडाका बथानसँगै गयो वनतिर। भेडाका घाँटीमा टिङ्टिङ् बज्ने घण्टीको धूनमा उसले आफ्नो आवाज मिसायो र मन्त्रीकी छोरीलाई अप्सरा जस्तै हावामा उड्दैउड्दै आएको सम्झियो। ऊसँगै, गौचरनमा दगुर्दैदगुर्दै आफू उत्तरतिर हान्निएको कल्पना गर्यो। दिनभरि नै ऊ गाइरह्यो र घण्टीको धूनको नक्कल गर्ने कोसिस गरी नै रह्यो।
आफ्नो आवाज त्यस्तै खाले भएको कल्पना गर्नासाथ ऊ खुसी भयो र सोच्यो, यस्तो आवाजबाट खुसी भएर उसकी दुलहीले उसका लागि वीरबहादुरले खाने गरेको जस्तै भोजन बनाउने छे– खसीको मासु, बन्दाको सुप, भुटेको आलु र कागतीको अचार।
“म पनि हजुरको जस्तै खान खाने”, भुवनले एक साँझ वीरबहादुरलाई भन्यो।
“त्यसो भनिस् भने मन्त्रीकी छोरीले तँलाई मनपराउँदिन। ऊ शाकाहारी हो, मासु नखाने। ऊ त मकैको पिठो उमालेर पानीसँग खान्छे। त्योभन्दा बढी खायो भने रोग लाग्छ भन्छे”, वीरबहादुरले जवाफ दियो।
“थोरै मासु र अलिकति साग त उसलाई पनि मनपर्छ होला”, भुवनले भन्यो।
“हैट्, लठ्वा! ऊ त हावामा तैरेर उड्ने अप्सरा हो। मासु खायो भने उसको वजन बढ्छ र उड्न नसक्ने हुन्छे। साग खायो भने जीउ सारै हलुङ्गो उड्छ र हावाले उडाउन सक्छ।”
“अनि दूध?”
“मनपर्छ, तर भेडाको मात्र।”
“भेडाको दूध”, भन्दै भुवन खुसीले उफ्रियो र कुदेर भेडाको खोरतिर गयो र भेडाका फाँचा हेर्न थाल्यो। आठओटा माउ भेडा भर्खरै ब्याएका थिए र फाँचा निकै ठूला थिए। उसले एउटा बाल्टी लाग्यो र दूध दुहुने कोसिस गर्यो। बडो मुस्किलसँग दुई कान दूध उसले बाल्टीका जम्मा पार्यो।
दिउँसो चरनमा पनि ऊ दूध दुहुने प्रयास गर्न थाल्यो। बाटो हिँड्नेहरू उभिएर उसको यो चाला हेर्थे र दिउँसै त्यो पनि चरनमै किन भेडा दोएको होला भनेर छक्क पर्थे। सोध्नेहरूलाई ऊ भन्थ्यो, “मन्त्रीकी छोरीलाई भेडाको दूध मनपर्छ क्या!”
“पागल!” भन्थे बटुवाहरू र आफ्नो बाटो लाग्थे। तिनीहरूको कुरा सुन्दा उसलाई दुःख लाग्थ्यो।
भेडाको संख्या सालैपिच्छे बढिरहन्थ्यो। पाठाहरू माउ भेडा अथवा थुँबा बन्थे। नयाँनयाँ पाठा जन्मिरहन्थे। भुवनको काम बढेको बढ्यै हुन्थ्यो।
तरै पनि उसले गनगन नगरी आफ्नो काम गरिरह्यो। उसलाई पूर्ण विश्वास थियो, मन्त्रीकी छोरी एक दिन जरुर आउनेछे र उनीहरूको बिहे हुनेछ।
एक दिन त्यसै खर्कमा ऊसँगै गाईबस्तु चराउने एक जना किसानले सोधे, “भुवन, तिमी कति वर्षका भयौ?”
“थाहै छैन, काका, बूढोले कहिल्यै केक किनिदिएको छैन। मन्त्रीकी छोरी दश भनेपछि म त एघार हुनुपर्ने हो।”
किसानलाई हाँसो उठ्यो। करिव पन्ध्र वर्ष अगाडि यसैगरी, यही प्रश्न सोध्दा पनि भुवनले यही जवाफ दिएको थियो।
“तिमी पच्चीस वर्षका भयौँ, बाबू! तिम्री आमाले तिमीलाई पाउँदा म त्यहीँ थिएँ। अब तिम्रो बिहे गर्ने बेला भयो।”
“हो र, काका? म बूढोलाई भन्छु।”
साँझ घरमा भुवनले वीरबहादुरलाई तुरन्तै मन्त्रीकी छोरी खोजेर ल्याउन करकर गर्यो। तर वीरबहादुरले भन्यो, ‘दुई सय भन्दा पनि कम भेडा भएको बथान देखेर मन्त्रीकी छोरी दुःखी हुनेछे।’
दिक्क भएको भुवन उसलाई सल्लाह दिने तिनै किसानकहाँ गयो र गुनासो गर्यो। आफ्नो मालिकलाई भेटेर कुरा सम्झाइदिन पनि उसले अनुरोध गर्यो।
“हौ दाइ, भुवन त भर्खर दश वर्षको भएँ पो भन्छ त!”, किसानले वीरबहादुरलाई भने। “उसको मगज पो ठीक छैन कि!” उनले शंका व्यक्त गरे।
“मलाई पनि त्यस्तै लाग्छ। अस्ति गाउँलेहरूले सुनाए, चरनमै भेडा दुहुँदै थियो रे!”
“दाइ, डाक्टरकहाँ लगेर जँचाउनुपर्यो एक दिन”, उनले सल्लाह दिए। फेरि थपे, “तपाईंबाहेक संसारमा अर्को कोही पनि त छैन उसको।”
“सही हो। तर, उसलाई डाक्टरकहाँ लाँदा भेडा कसले हेर्छ?”
हुनत यो एउटा समस्यै थियो। वीरबहादुर यति मोटाएका थिए कि उनलाई आफैँ भेडाका पछाडि कुद्न संभव नै थिएन।
धेरैबेर सोचेपछि ती किसानले भने, “एक दिनका लागि म हेर्दिन्छु तपाईंका भेडा। यस टुहुरोलाई एकबाजीचाहिँ डाक्टरकहाँ लानैपर्यो।”
अर्को शनिबार, वीरबहादुरलाई भुवनसँगै बजारतिर जाँदै गरेको धेरैले देखे। गाउँलेहरूले भुवन र वीरबहादुरलाई सँगै हिँडेको देखेको यो नै पहिलो घटना थियो।
साँझ घर फर्कंदै गर्दा वीरबहादुरले ती भेडा हेरिदिने किसानलाई भने, “सामान्य छ रे! टेसफेस सब गरेर हेर्यो।”
ती किसान पनि ढुक्क मानेर घर भए। किन दिनभरि लागेछ भन्ने कुरो उनले बुझे।
भुवनले भेडा चराइरह्यो। मन्त्रीकी छोरीका लागि गीत गाइरह्यो। बाँसमाथि लेखेको उसको किरिङ्मिरिङ् गीत दिनदिनै दुर्बोध्य हुँदै गयो। घण्टीको धूनसँग पनि एकाकार हुन छोड्यो उसको आवाज। भेडाका पछाडि कुद्दा कैयौँपल्ट ऊ आलीबाट लड्न थाल्यो र सधैँ छातीभित्र कतै केही दुखिरहने कुरो आफ्ना साथी गोठालाहरूलाई सुनाउन थाल्यो। एकपल्ट जब रगतै छाद्यो, त्यस बेलादेखि उसका साथीहरू उसलाई बढी नै दया गर्न थाले।
उता, घरमा ऊ पुग्दा वीरबहादुर बिरलै घरमा हुन्थ्यो। ऊ अघि नै कता गाउँतिर डुल्न निस्किसकेको हुन्थ्यो। राती धेरै अबेर मात्र फर्कन्थ्यो र माथिल्लो तलामा गएर सुतिहाल्थ्यो। भुवनको खोजखबर गर्ने त कुरै थिएन।
तर, एक दिन बिहान वीरबहादुरले भन्यो, “भुवन, तयारी गर्। हामी आज कतै जाने।”
“कहाँ जाने, बुबा?”
“मन्त्रीकी छोरी भेट्न।”
संसारको सबै खुसी आफ्नै छातीमा झरेजस्तो अनुभव भयो भुवनलाई। ऊ आँगनमा उफ्रियो खुसीले र एकछिनमै तयार भएर आयो। उसले आज आफूसँग भएका सबैभन्दा राम्रा लुगा लगायो, जसमा एउटा जडाउरी सर्ट, कटनको एउटा पाइन्ट, प्लास्टिकका एक जोडी जुत्ता सामेल थिए। यसरी राम्रिएर ऊ मालिकसामु उभियो। भावनाको अतिशय उच्छलनसहित ऊ मालिकको नगिचै आएर उभियो। मालिकले आफूले लाएको कोट खोलेर उसलाई दियो। भुवनले अविश्वासको दृष्टिले उसका आँखामा हेरिरह्यो। वीरबहादुरले लगा भनेपछि मात्रै उसले लगायो।
वीरबाहादुरले भेडा हेर्न भनेर तिनै बूढा किसानलाई अह्राइसकेको थियो। ऊ र भुवन त्यहाँबाट निस्किए। साँझ पर्दासम्म उनीहरू कोसी नदीको किनारसम्म पुगिसकेका थिए।
कोसी नदीमा अलि पर तैरिरहेको एउटा डुंगा देखाउँदै वीरबहादुरले भन्यो, “ऊ, त्यहाँ एउटा डुंगा देखिस्?”
भुवनले “देखेँ” त भन्यो, तर उसको भनाइमा खासै आत्मविश्वासचाहिँ देखिएन।
“मन्त्रीकी छोरी त्यसै डुंगामा छे। ऊ तँलाई भेट्न यतै आउँदै छे। ऊ यहाँ नआइपुग्दासम्म यहीँ बसिरहनू। ऊ नजिक आएपछि घण्टीको आवाज गर्नू अनि आफूले जानेको सबैभन्दा मीठो गीत गाउनू। उसले तुरन्तै तँसँग बिहे गर्छे। साँझ उसलाई लिएर घर फर्कनू। बाटोभरि फेरि घण्टीकै आवाज निकालिरहनू।”
आँखामा पौडिँदै गरेको असीमित खुसीसहित भुवनले विशाल नदीमा उँधोतिर हेर्यो। उसको दिमागले भ्याउनेभन्दा धेरै चौडाइ भएको विशाल नदी शान्त बगिरहेको थियो।
“भेडा घर आइपुगे होला। म थान्कोमुन्को गर्दै गर्छु। तिमीहरू पछि आउनू”, भन्दै वीरबहादुर हिँड्यो।
भुवन पर्खिरह्यो, तर मन्त्रीकी छोरी आइन। घाम अस्ताए। आआफ्ना डुंगा किनार लगाएर माझीहरू घर फर्किए। आकाशमा तारा टिम्टिमाउन थाले र एक्लो जून झुलुक्क झुल्कियो। जूनको छाया तल कोसीका विशाल छातीमा नाचिरहेका जलतरंगमा ढलपल हल्लिएको देखियो।
रात गहिँरिँदै गयो। पुसको चिसो दिन, नदीको आँत छोएर बगेको सिरेटोले भुवनको रगत नै जमाएजस्तो लाग्यो। तरै पनि उसका आँखाले दक्षिण ताकिरहे, ताकिरहे। निकै पर, कालो एउटा आकृति चल्मलाएको देख्यो उसले। उसले केही उज्यालो पनि देख्यो, नदीमाथि चम्किरहेको, बगिरहेको, फैलिरहेको। ऊ अझै मन्त्रीकी छोरीको प्रतीक्षा गरिरह्यो र बिर्सन्छु कि भन्ने डरले भेडाको घाँटीको घण्टीको आवाज दोहोर्याइरह्यो।
मध्यरातमा पर देखिएको त्यो कालो छाया ऊतिरै आएको देखियो। त्यसमा बत्ती जस्तो केही उज्यालोचाहिँ थियो र हिउँदको चिसो रातामा त्यो झिल्मिलाइरहेको थियो। ऊ अधीर भयो, किनकि, मध्यरातको प्रहरमा जब आधा संसार मस्त निद्रामा सुतिरहको थियो, कुनै मन्त्रीकी छोरी नजिक आइरहेकी थिई।
तर एउटा दूरीमा आइसकेपछि भने त्यो कालो आकृति चल्मलाउन छोड्यो। आफूतिर अगाडि बढ्छ कि, बढ्छ कि भनेर होरिरहेको भुवनको मनमा अधैर्य र निराशाले डेरा जमाउन थाल्यो। ऊ हातले “यता, यता, छिटो, छिटो” भनेर इशारा गरिह्यो। तर अस्थिर आकृति, अहँ, अलिकति पनि हल्लिएन।
उसको मुटु ढुकढुक गर्न थाल्यो। छाती यति ढुक्ढुकाइरहेको थियो कि उसको मुटु करङहरूको पिँजडा तोडेर बाहिरै पोखिन खोजिरहेको थियो। उसले आफूलाई नियन्त्रण नै गर्न सकिरहेको थिएन।
ऊ आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो। नदी किनारमा माझीहरूले बाँधेर छोडेका अनेक डुंगामध्ये एउटालाई किलोबाट फुकायो र पस्यो कोसी नदीको विशाल गर्तमा, अँध्यारो र उज्यालो मिश्रित कुनै अज्ञात छायातिर लम्कियो ऊ।
रगत जमाउने हिउँदको चिसोमा कठ्यांग्रिएको भुवनका अरर्रिएका हातले आग्लो ठेल्न मानेनन्। नदीको एउटा बलिष्ट भँगालोले उसको हातबाट आग्लो फुत्काएर लग्यो र उसको डुंगा कोसीको मझधारमै पल्टियो। पर देखिएको कालो छाया अब कतै देखिन छोडेको थियो। त्यो उज्यालो पनि अब चम्कन छोडेको थियो।
माझीहरूले भोलिपल्ट भुवनको मृत शरीर नदी किनारमा फेलापारे। पुलिसले लाशको निरीक्षण गर्यो। उसले लाएको, उसको मालिकको कोटको भित्री खल्तीमा, प्लास्टिकले बेरेर सुरक्षित राखिएको, डाक्टरको कागज थियो। त्यसमा लेखिएको थियो, “सुस्त मनस्थिति, कुपोषणका कारणले लागेको हुनसक्ने क्षय रोग र निमोनियाले ग्रस्त।”
मानिसहरू नदी किनारमा भेला भएर अज्ञात मान्छेको त्यो मृत शरीर हेरिरहँदा तीनवटा भारतीय ट्रकहरू सेता, बलिया भेडा लिएर महेन्द्र राजमार्गबाट भारतीय सिमानातिर हान्निँदै गरेका सबैले देखे।
(कवि र समालोचकको व्यक्तित्वबाट परिचित महेश पौड्यालको प्रकाशोन्मुख कथासंग्रह 'त्यसपछि फुलेन गोदावरी'बाट।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।