|

काठमाडौं : बजारमा तीजको चहलपहल सुरु भइसकेको छ। सहरका सपिङ मल र पसल तीजका सामाग्रीले सजिएका छन्। पसलहरुमा तीज गीत घन्किन थालिसके। गायक गायिकाहरुले तीजलाई नै लक्षित गरेर धेरै गीत ल्याएका छन्।

हिजोआज तीजका गीतमा महिलाका दुख र बेदनाका कुरामात्र छैनन्। तीजको गीतमा पनि विविधता आइसके। यसवर्ष मुलुकमा भएका मुख्य घटनाहरु पनि तीजगीतका विषय बनेका छन्। जसमा नक्कली डाक्टर पक्राउ परेकोदेखि राजनीतिलाई ब्यापार ब्यवसाय बनाएका कुरासम्म छन्। अनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका भाषणले पनि तीज गीतमा राम्रै स्थान पाए।

यसवर्ष प्रहरीले नक्कली डाक्टर, नक्कली पाइलट खोज्न अभियानै चलायो। धेरै डाक्टर नक्कलीको अभियोगमा पक्राउ पनि परे।  गायक पशुपति शर्माले यही विषयमा तीजको गीत 'नक्कलीले खायो मेरो देश…' बनाए। 

सोझाको त मनको इच्छा के होला र पूरा

डाक्टर पाइलट नक्कली छन् अरुको के कुरा

दुनियाँले सोचेको राम्रो नेपालमा

जसले सोच्छ पाप बरै त्यसलाई फलिफाप

जो मान्छे होचो बरै त्यसकै मुखमा घोचो

ए क्यारम् बरिलै हाम्रै नेपालमा

डाक्टर पनि नक्कली

पाइलट पनि नक्कली

गायक पनि नक्कली

नायक पनि नक्कली

नक्कलीले खायो मेरो देश!

उनले डाक्टर, पाइलट, गायक, नायक सबै नक्कली भएको र तिनले देश नै खाएको भनेर गीतमार्फत व्यंग्य गरेका छन्। गीतमा देशका लागि केही गर्ने भन्दा भ्रष्टाचारीले चुनाव जित्ने गरेकोले देश बिग्रेको पनि उल्लेख गरिएको छ। 

देवी हमालको 'नयाँ पार्टी खोल्छु…' बोलको गीत पनि हिजोआज युट्युबमा चर्चित छ। नेपालमा राम्रो आम्दानी हुने व्यवसाय राजनीति मात्र रहेको भन्दै गायिकाले गीत मार्फत नयाँ पार्टी खोल्ने चाहना राखेकी छन्।   

देश अनुसार व्यवसाय छान्नैपर्ने रैछ

जनतालाई झुक्याउन जान्नैपर्ने रैछ

कसले गरी बस्छ अब घरधित्रको धन्दा

राजनीति नै गरिन्छ कृषि गर्न भन्दा

सत्य कुरा बोल्छु

नेपालमा आम्दानी राजनीतिमै रैछ

यै वर्ष भित्रमा नयाँ पार्टी खोल्छु

देशमा अरु व्यवसाय कमजोर भएको अवस्थामा राजनीतिमा लाग्नेहरुको जीवनस्तर भने लोभलाग्दो गरी बढेको र  राजनीति गर्न काम नभई कुरामात्रै पुग्ने भन्दै एकवर्षमै नयाँ पार्टी खोल्ने गीतमा उल्लेख गरिएको छ। गीतका अनुसार पहिला चप्पल लगाएर सडक नाप्नेहरु नेता भएपछि पजेरो चढ्ने भइसकेका छन्।

***

यसपालीका तीज गीतहरुमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण पनि मसला बने। ओलीले सरकारप्रमुखको भूमिकामा रहेका बेला घरघरमा ग्यास पाइप जोड्ने, हावाबाट बिजुली निकाल्ने, नेपालको नाममा पानीजहाज चलाउने, चीनबाट रेल ल्याउने जस्ता कुराहरु गरेका थिए। जसलाई लिएर उनलाई 'ओलीले नसक्ने कुरा गरे' भनेर आलोचना समेत भयो। तीजका गीतमा पनि ओलीका ती विषय नेताका गफ भनेर व्यंग्य गरिएको छ।

अरबिन्द्र भट्टराईको शब्द र स्वर रहेको गीत 'घरघरमा ग्यास पाइप…' मा ओलीको भनाइलाई व्यंग्य गर्दै यस्तो भनिएको छ :

ग्यासको त कुरै छोडौं थोरै दाउरा ल्यायौ

कत्रो दुख हुँदा पनि भाषण गर्‍यौ हसाँयौ

गफैबाट भएनि अधिकार लेउ

पाइपबाटै दरखाने सिस्टम मिलाइदेउ!

त्यस्तै अर्को गीत छ नारायण बि. पी. को शब्द रहेको 'धन्य केपी दाइ…', जसमा केपी शर्मा ओली प्रधानमन्त्री भएका दिएका भाषणका भिडियो क्लिप फोटा प्रयोग गरेर र उनले गरेका भाषणका विषयमा व्यंग अभिनय समेत प्रस्तुत गरिएको छ।

धन्य केपी दाइ

साइकल चढ्न नपाउने नेपाली हामीलाई

नेपालका पहाडमा रेल आउने रे बाई

नेपालको नाम राखेर जहाज चलाउने रे बाई

के भन्छन् कलाकार?

समाजमा देखिएका परिवर्तनसँगै तीजका गीतमा समसामयिक विषय आउन थालेका कलाकाहरु बताउँछन्। गायक र निर्माताको आग्रहमा यस्ता विषयमा गीत लेखिने तीज गीतका गीतकारहरुको भनाई छ। 

डिमान्ड अनुसारकै गीत लेख्ने गरेको गीतकार एकनाराण भण्डारी बताउछन्। 'अहिलेको व्यवसायिक ट्रेन्ड भनेको स्टेजमा नाच्ने गीतहरु हुन्। गायकहरुको डिमान्ड पनि त्यस्तै हुन्छ' भण्डारीले भने। समसामयिक विषय समेट्दा दर्शक स्रोता बढ्ने भएकोले तीज गीतमा समयसामयिक सन्दर्भ जोडिएको उनको भनाई छ।

तीज गीतमा राजनीतिक र समसामयिक घटना जोडिनुमा तीज गीतलाई सामान्य मनोरञ्जनको विषय मात्रै नभई समाजलाई सकरात्मक सन्देश दिन यस्ता गीत तयार पारेको गीतकार एवं गायक पशुपति शर्माले बताए। उनी भन्छन्, 'विशुद्ध मनोरञ्जन मात्रै हुँदैन समाजमा र राजनीतिमा यस्तो पनि भइरहेको छ हैं भन्ने सन्देश दिन खोजेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.