|

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको गुनासो सम्बोधनका लागि टोल फ्री नम्बर १०७ लाई सक्रिय बनाउने भएको छ। सेवाग्राहीको चाप हुने सरकारी कार्यालयलाई मध्यनजर गरी यो सेवा विस्तार गर्न लागेको अख्तियारले जनाएको छ। 

यसअघि पनि १०७ टोल फ्री नम्बर राखे पनि प्रभावकारी नभएको भन्दै अख्तियारले सेवाग्राहीका समस्या समाधान गर्न यसलाई सक्रिय गराउन लागेको आयोगका सचिव राजन खनालले बताए। 'हामीमा विभिन्न किसिमका सूचना आउने गर्छन,कतिको पैसा सकियो भनेर सूचना दिन समेत हतार गर्नु हुन्छ,यसलाई एकीतृत गर्न र ग्राहकको समस्या समाधान गर्नको लागि १०७ टोल फ्री नम्बरको व्यवस्था गरेका छौ' सचिव खनालले भने। 

आयोगले पहिलो चरणमा यो नम्बर काठमाडौं उपत्यका नापी कार्यलय, मालपोत, यातायात, श्रम र नगरपालिकाहरुको नक्शा पास गर्ने शाखामा राख्ने छ।

आयोगले यी कार्यालयमा विहीबारदेखिनै कार्यालयको मूख्य प्रवेशद्वारमा नै १०७ मा कल गरेर गुनासो सम्बोधन हुने जानकारी सहितको व्यानर राखेको छ।त्यस्तै सेवाग्राहीले सेवा लिनुपर्ने हरेक झ्याल ढोकामा पनि यस्ता स्टिकर राख्ने छ। १०७ मा डायल गरेपछि सेवाग्राहीले निशुल्क रुपमा आफ्नो समस्या राख्न सक्नेछन्। यो फोन मार्फत एक पटकमा सातजना सेवाग्राहीले आफ्नो समस्या राख्न सकेन्छन्।

यदी कर्मचारीले पैसा लिएमा, काम गर्ने आश्वासन दिएर काम नगरेको खण्डमा आयोगले आफ्नो टोली त्यहाँ पठाउनेछ भने अन्य समस्याको कारण काममा ढिलाइ भएमा सम्वधित कार्यालय प्रमुखको ध्यानकर्षण गराउने छ। यसको प्रभावकारिता हेरेर देशका अन्य स्थान र कार्यालयमा पनि यो सेवा विस्तार गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.