|

बैतडी : जन्मजात नै अपांगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा र्यासीका ५८ वर्षीय हरिराम दमाईको दम्पतीलाई सहयोग जुट्दै गएको छ। पालमुनि बस्दै आएका अपांग दम्पतिका लागि स्थानीय युवाहरुले पक्की घर बनाइदिन थालेका छन्। स्थानीय युवा हिक्मत चन्दको नेतृत्वमा सहयोग संकलन टोली बनाएर २५ हजार सहयोग रकम संकलन गरिसकेका छन्।

हरिराम दम्पतीलाई बैतडी दशरथचन्द नगरपालिका-४ सुन्दरघर भई हाल कतारमा रोजगारीको लागि गएका माधव भट्टले ५ हजार रुपैयाँ सहयोगस्वरुप पठाएको स्थानीय सहयोग संकलन टोलीका नेतृत्वकर्ता हिक्मत चन्दले बताए। कतारबाट गरेको ५ हजार सहयोग लगाएर स्थानीय तथा नगरबासिन्दाले गरेको १ सय÷२ सय गरेर हालसम्म २२ हजार ५ सय ९२ रुपैयाँ सहयोग संकलन भएको उनले बताए।

यसका साथै दशरथचन्द वडा नं-८ का नवनिर्वाचित वडा अध्यक्ष सुरेश सिंह थापाले पनि वडा कार्यालयवाट हरिराम दम्पतीलाई ३० हजार रुपैयाँ दिने बताएका छन्। साथै दशरथचन्द नगरपालिकाले पनि हरिराम दम्पतीलाई सहयोग गर्ने जनाएको छ।

हरिराम दम्पतीलाई बुढेसकालको साहारा छोराछोरी नहुँदाको पीडा एकातिर खेप्नुपरेको छ भने अर्कातिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ। वर्षातको समयमा न त बस्नलाई ठाउँ छ सानो घर थियो त्यो पनि भत्किएको र जिर्ण अवस्थामा रहेको छ। वर्षातको समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन्। हाल उक्त झुपडी बनाइदिएकोे भए पनि स्थानीय युवाहरु भने हरिराम दम्पतीको पक्की घर बनाउनतर्फ जुटेका छन्।

स्थानीय हिक्मत चन्दको नेतृत्वमा स्थानीय युवाहरुले १ भदौदेखि हरिरामको लागि पक्की घर बनाउने गरेर ढुंगा निकाल्नसमेत सुरु गरेका छन्। ‘हामीले हरिरामको स्थाई बसोवासको व्यवस्था गर्न चाहेका छौँ,’ स्थानीय हिक्मत चन्दले भने, ‘कुनै पनि निकायले सहयोग नगरे पनि हामी चन्दा संकलन गरेर पनि हरिरामको घर निर्माणमा जुटेका हौँ।’

नगरप्रमुख नरेन्द्र सिंह थापाले तत्कालका लागि हरिरामको दम्पतीका लागि अस्थाई रुपमा बस्नका लागि जस्ताको घर बनाउनका जस्तापाता सहयोग गर्ने बताएका छन्। यसका साथै हरिरामको पक्की घर निर्माणका लागि थप आर्थिक सहयोग गरिनेसमेत उनले बताए।

श्रीमान् श्रीमती दुवै जन्मजात नै अपांगता तथा बोल्न नसक्ने हातको इसाराले छिमेकीसँग मागेर दैनिक गुजारा गरिरहेका हरिरामको दम्पती घर नहुँदा राती–राती सुत्नलाई नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिर जाने गरेका छन्। मन्दिरमै दमाहा बजाउने र आउने भक्तजनहरुबाट मागेर दैनिक छाक टार्ने गरेका छन्। बिहे भएको केही वर्षपछि उनीहरुको एउटा छोरा जन्मिएको र जन्मेको १३ दिनमै मृत्यु भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.