काठमाडाैँ: उदयपुरकी ३० वर्षकी सुनैना राई (नागरिकतामा सुनिता राई) वैदेशिक रोजगारीको सिलसिलामा तीन पटक कुवेत पुगिन्। अगाडिका दुई पटकका यात्रा सुखद नै भए। तेस्रो यात्रा भने उनी सम्झिन पनि चाहन्नन्।
पहिलाे पटक कुवेत जाँदा उनी सानै थिइन्, गएको मितिसमेत याद छैन। उनी हस्तलिखित राहदानीमार्फत नै गएकी थिइन्। तीन वर्ष बसेर नेपाल फर्किएपछि उनले सन् २०१२ मा राहदानी (एमअारपी) बनाइन्।
सन् २०१३ मा दोस्रो पटक कुवेत गएपछि दुई वर्ष बसेर फर्किइन् उनी। दुई पटक कुवेत जाँदा पनि साेचेजति धेरै पैसा कमाउन नसकेपछि उनले फेरि विदेश जाने सोच त्यागिन्। विदेश नजाने निधो गरेकी उनी पति, छोरा र छोरीसँगै काठमाडौँमै बस्दै आएकी थिइन्।
एक दिन काभ्रे घर भएका दीपक अाले मगरसँग उनकाे भेट भयाे। उनले सुनैनालाई बहिनीकाे साइनाे लगाए। मान्छे विदेश पठाउँदै आएका उनले सुनैनालाई इराक गएमा पैसा कमाउन सकिने बताए। तर त्यसको लागि अवैधानिक बाटो प्रयोग गर्नुपर्ने पनि खुलाए। सुनैना एउटा शर्तमा अवैधानिक बाटो भएरै कुवेत जान राजी भइन्। इराक नपुग्दासम्म दलाललाई एक पैसा पनि नदिने भन्ने थियो शर्त। आलेले सहमति जनाए। त्यसपछि सुरु भयो उनको तेस्रो विदेश यात्रा, जुन अगाडिका दुई विदेश यात्राभन्दा धेरै दुखद् रह्यो।
दीपक आलेले अर्का एजेन्ट सुवास तामाङसँग सुनैनालाई चिनजान गराइदिए। सुवासले सुनिताको कोठामै पुगेर पासपोर्ट लिएर प्रक्रिया सुरु गरे। कुवेत जान उनलाई अर्का एजेन्ट टंक झारी मगरले झापा लिएर गए।
झापामा सुनैनालाई शेखा मगरले रिसिभ गरे। शेखाले सुनैनालाई अर्को एक जनाको जिम्मा लगाए, जसको जिम्मा थियो उनलाई दिल्ली पुर्याउने। ती एजेन्टको नाम भने उनले बिर्सिइन्। ।
दिल्लीमा एजेन्टहरूले डेराको बन्दोबस्त गरेका थिए। पाँच दिनसम्म उनलाई त्यहीँ राखियो। दिल्लीको डेरामा एक महिना बसिन् उनी। त्यहाँ अरू धेरै महिला उनी जस्तै सपना बोकेर आएका भेटिए। एक महिनापछि सुनैनालाई श्रीलंकाकाे काेलम्बाे लगियो। त्यहाँ २० जनाभन्दा बढी महिला इराक जाने दिन कुरिरहेका थिए।
उनीहरू भने एक महिनाअघि नै त्यहाँ पुगिसकेका थिए। काेलम्बाेमा उनीहरूलाई एउटै कोठाको सिमेन्टको भुइँमा सुत्ने व्यवस्था थियो। चामल पनि निकै कमसल खालको थियो। भात निल्न पनि सकस हुने सुनैना सुनाउँछिन्।
केही दिनपछि एजेन्टले केही महिलालाई इराक पठाउने भनेर लिएर गए। 'ती दिदीहरूलाई इराक पुर्यायो कि पुर्याएन थाहा छैन', सुनैनाले मलिन स्वरमा भनिन्।
सुनैनालाई एजेन्टहरूले इराक जान भाषा जानेको छैन भनेर कुवेत नै पठाउने भने। त्यसपछि उनको इराक जाने सपना अधुरै रह्यो। तेस्रो पटक पनि कुवेत नै जाने भइन्, जहाँ उनी वैधानिक बाटोबाटै दुई पटक पुगिसकेकी थिइन्।
श्रीलंकाबाट जहाज चढाएर उनलाई पहिले ओमान लगियो, त्यसपछि कुवेत। ‘नवलपरासी घर भएकी अस्मिता पाण्डे भन्ने एजेन्ट हामीलाई एअरपोर्टमा लिन आइन्। उनले आफ्नो कोठामा लगिन्, उनको अफिस थियो कि थिएन पनि थाहा भएन', उनले भनिन्।
दुई दिनपछि अस्मिताले एक अरबीको घरमा पुर्याइन्। 'अरबी लिन आएको होइन। हामी आफैँ उसको घरमा पुगेका हौँ। अरबीको घरमा काम गर्नलाई त्यत्ति दु:ख थिएन', सुनैनाले लामो सास फेरिन्।
फेरि फर्किएर अस्मिताकै कोठामा
अरबीको घरमा काम राम्रै चल्दै थियो। दुई महिनाको तलब लिइसकेकी थिइन्। तीन महिना पुग्न दुई दिन बाँकी हुँदा उनलाई अाफू गर्भवती भएकाे थाहा भयो। उनले अरबी मालिकसँग आफ्नो समस्या राखिन्। मालिकले तीन महिना नपुग्दै फर्किनुपरेमा सबै खर्च कम्पनीले व्यहोर्नुपर्ने भएकाले तीन महिना नपुग्दै नेपाल फर्किन सुझाव दियो।
‘जसले यहाँसम्म ल्याइदिएको हो, उनीहरूमार्फत नै नेपाल जानू’ अरबीले यस्तो सुझाव दिँदै अस्मिता पाण्डे र उनका पतिलाई खबर गरे। अस्मिता पतिसहित सुनैनालाई लिन पुगिन्। उनले पाउनुपर्ने तेस्रो महिनाको तलब पनि अस्मिताले नै लिइन्।
अस्मिताको कोठामा आएपछि सुनैनाका दुःखका दिन सुरु भए। खासमा सुनैनालाई अस्मिताका पतिपत्नीले अरबीलाई झण्डै १२ देखि १३ सय दिनार (करिब ७ लाख नेपाली रुपैयाँ) मा बेचेको अनुमान गर्छिन् उनी। सुनैना फर्किने भएपछि उनीहरूले हातमा आएको सात लाख रुपैयाँ गुमाउनुपरेको थियो। त्यसैले उनीहरू सुनैनालाई नेपाल फर्काउन चाहँदैन थिए।
अस्मिताका पति विदेशी नागरिक थिए। उनी धेरै क्रुर पनि थिए। सुनैनाले अस्मिताको घरमा खाना पकाउनेदेखि सबै काम गर्नुपर्थ्यो। कहिलेकाहीँ खाना पकाउँदै गर्दा खोकी लाग्यो भने पनि अस्मिताको पति लौरो लिएरै कुट्न तम्सिन्थ्यो।
‘मलाई छिटै नेपाल जानु छ। तपाईंहरू मलाई कहिले पठाउने?’ सुनैनाको प्रश्नमा अस्मिताको पति बेस्सरी रिसाउँथ्यो। ‘तँलाई हामी यतै मारेर फालिदिन्छौँ। हामीसँग अर्बौं अर्ब रकम छ। तलाई मारेर फाले पनि हामीलाई कसैले केही गर्न सक्दैन', उसले भन्ने गरेको कुरा सुनाइन्, 'तिमीहरू नेपालमा खान नपाएर र पैसा नभएर आएका त हौ नि।’
उसले नेपाल फर्किने भए तीन लाख रुपैयाँ मगाउन आग्रह गर्यो। ‘घरमा आमाबुबाले त्यस्ता शब्दहरू प्रयोग गर्नुहुन्न तर दलालहरूले अनेकथरि शब्द प्रयोग गरेर गाली गर्थे। बुबाआमाको एक झापड नखाएकी मैले तिनीहरूको कुटाइ पनि खाएँ’, उनले तीतो अनुभव सुनाइन्।
विदेशमा दुःख पाउँदा नेपालीले नेपालीलाई साथ दिन्छन् भन्ने सोच्ने सुनैना उनीहरूको व्यवहारले भने निकै आक्रोशित भइन्। ‘तिनीहरूलाई नेपालमा भेट्न पाए के गर्थें, मलाई मात्र थाहा छ', उनले आक्रोश पोखिन्, 'तर तिनीहरू ठूला मान्छे, पैसावाल मान्छे, यहाँ आए पनि भेटाउन सकिँदैन होला।’ उनको माग छ, 'मेरो पैसा आओस् कि नआओस्, ती नेपाली दलाललाई कारवाही होस्।'
फोन फालिदिए, सिक्री लुटिदिए
एक दिन प्लेन टिकट काटिदिन्छौँ भनेर फकाइफुल्याई गरेर अस्मिताका पतिले सुनैनासँग ११० दिराम लिइदियो। उसले फिर्ता पनि गरेन। भएको रकम पनि लिइदिने र स्वदेश फर्काउने पहल पनि नगरेपछि एक दिन उनले इजिप्टमा रहेकी दिदीलाई सबै वृत्तान्त सुनाइदिइन्। दिदीले कुवेतको नेपाली जनप्रगतिशील मञ्चको अध्यक्ष दावा थोकर तामाङलाई बहिनीको उद्दार गरिदिन आग्रह गरिन्। दावाले नेपाली दूतावासमा खबर गरिदिए। एक दिन सुनैनालाई दूतावासबाट फोन आयो।
दूतावासका कर्मचारीसँग कुरा गरेको सुनेर अस्मिताको पतिले फोन खोसेर फालिदियो। फोन कामै नलाग्ने गरी बिग्रियो। उसले ५३ हजार पर्ने सुनको सिक्री पनि लुटिदियो।
‘दावा थोकर तामाङ दाजु र दूतावासका कर्मचारीले उनीहरूकै फोनमा कुरा गरेर मलाई नेपाल फर्काइदिन भन्न थाले। दिल्लीमा रहेकाे एजेन्टले पनि सुनैनाकाे ठाउँमा अरू नै मान्छे ल्याइदिने भनेपछि उनीहरू मलाई नेपाल पठाउन राजी भए', उनले भनिन्। त्यसपछि बल्ल उनी गत वर्ष बैशाखमा नेपाल फर्किइन्।
'मैले पाउनुपर्ने पैसा, मेरो सिक्री र तलबवापतको रकम पाउन पाए हुन्थ्यो तर कहाँबाट पाउने? हाम्रो कुरा कसले सुनिदिने?', सुनैनाले लामो सास फेरिन्,
‘मलाई त्यसरी मानसिक तनाव दिनेलाई कारवाही हुन्छ कि हुँदैन?’
सुनैनाकाे माेवाइलकाे १२० दिनार,९० दिनार तलब र उनीसँग सापटी लिएकाे ११० दिनार गर्दा नेपाली एक लाख १० हजार रुपैयाँजति हुन अाउँछ। अनि लुटिएको डेढ ताेला सुनकाे सिक्रीकाे अहिलेको मूल्य ८० हजार रुपैयाँजति हुन अाउँछ। त्यसैले उनी एजेन्टसँग दुई लाख रुपैयाँ पाउनुपर्ने बताउँछिन्। क्षतिपूर्ति नपाए पनि अनेक सपना देखाएर विदेश लैजाने दलाललाई कारवाही भएको देख्न चाहन्छिन् उनी।
अवैधानिक बाटो भएर कुवेत जाँदा उनले दलालहरूको ठूलो सञ्जाल देखिन्। 'दिल्लीमा म बसेको ठाउँमा १० जनाजति थिए। मान्छे कति ल्याउँछन्, ल्याउँछन्। कहाँकहाँ पुर्याएर बेचिदिन्छन्। कसैले यसको खोजिनीति गरे हुन्थ्यो', उनी भन्छिन्।
पैसा कमाउन जसरी पनि विदेश जानुपर्छ भन्ने ठान्नेहरूलाई सुनैनाको सुझाव छ, 'भाषा नजानेर सबैभन्दा बढी दुःख पाइन्छ। त्यसपछि त्यहाँको चालचलन, सिष्टम नजानेर पनि पिटाइ खान्छन्। अब रोजगारीको लागि विदेश जानेहरू काम र भाषा सिकेर जानुपर्छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।