|

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेता मंगलबारदेखि दुई नम्बर प्रदेशको चुनावीसभा र पार्टी उम्मेदवारसँगको भेटमा जिल्ला दौडाहामा जाने भएका छन्।

कांग्रेस सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका नेताहरू दुई नम्बर प्रदेशका आठवटा चुनावीसभामा भाग लिन त्यसतर्फ जाने भएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति एवं प्रधानमन्त्री देउवासहितको शीर्ष नेताको टोलीमा पूर्व महामन्त्रीहरू प्रकशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि सहभागी हुने भएका छन्। कांग्रेसले शीर्ष नेताको उपस्थितिमा भदौ २७ गते १ बजे राजविराजमा र ४ बजे सिरहाको जिरो माइलमा चुनावीसभा गर्ने भएको छ।

२७ गते राती जनकपुर वास बसेर नेताहरूले त्यो क्षेत्रको चुनावी समीक्षा, छलफल र भेटघाट गर्ने भएका छन्। २८ गते १ बजे धनुषाको जनकपुरमा र महोत्तरीको बर्दिवासमा ३ बजे हुने चुनावीसभालाई नेताहरूले संवोधन गर्ने भएका छन्। २८ गते बर्दिवास, गौर वा चन्द्रनिगाहपुरमध्ये एक स्थानमा राती वास बस्ने नेताहरूले २९ गते १ बजे सर्लाहीको मलंगवाको आमसभालाई संवोधन गर्नेछन्।

२९ गते रौतहटको गौरमा ४ बजेको आमसभालाई संवोधन गरेर नेताहरूले साँझ वीरगञ्ज महानगरका पार्टी कार्यकर्तासँग भेट गर्ने भएका छन्। नेताहरूले ३० गते १ बजे बाराको कलैयामा र २ बजे पर्साको वीरगञ्जमा आयोजना हुने आमसभालाई संवोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.