तनहुँ : जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरु उद्यमशील बन्दै गएका छन्। जिल्ला कारागारका कैदीबन्दीहरुले बुनेका मुडाहरु पर्यटकीयस्थल पोखरामा खपत हुने गरेको छ। कैदीबन्दीहरुले विशेष गरी बाँसका सामग्रीहरु निर्माण गर्ने गरेको जिल्ला कारागारका प्रमुख तीर्थ खनालले बताए। बासका मुडा, डाइनिङ टेबल, जाल, नाम्लो लगायतका सामग्रीहरु निर्माण गर्ने गरेको खनालले बताए।
तेज कुमार श्रेष्ठ, राम मगर, रमेश सुनार, विश्व थापाले ठेक्का लिएर मुडा बनाउन आवश्यक कच्चा पदार्थको व्यवस्थापन गर्ने गरेका छन्। प्रत्येक महिनाको २÷३ पटक कच्चा पदार्थ कारागारमा ल्याइने गरेको छ। कारागारमा रहेका १ सय १२ कैदी बन्दीमध्ये ६० जनाले जेलभित्रै बसेर बाँसका सामग्री निर्माण गरेर अर्थोपार्जन गरिरहेका छन्। ३ जनाले नाम्लो र २ जनाले जाल बुन्ने गरेका छन्।
कैदी बन्दीहरुले बुनेका मुडाहरु तनहुँको दमौली, डुम्रे, आँबुखैरेनी, भिमाद, लमजुङको दुईपिप्ले र विशेष गरी पोखरामा खपत हुने गरेको जेलर विमल गौतमले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष मागअनुसार मुडा बजारमा पु¥याउन सकिएको गौतमले बताए।
गत वर्ष कारागारमा कच्चा पदार्थको अभाव देखिएको थियो भने यस वर्ष कच्चा पदार्थ पहिले नै व्यवस्थापन गर्न सकिएकाले मुडा उत्पादनमा वृद्धि भएको छ। उपभोक्ताको माग अनुरुपको मुडा बनाई बजारमा पु¥याउन सकेको उनले बताए।
मुडाबाटै मासिक ५० हजार
‘मासिक ५० हजार बढी मुडाबाट कैदी बन्दीले आम्दानी गर्ने गरेका छन्’ कारागारका चौकीदार नरबहादुर थापाले भने, ‘मुडाको माग बढेकाले दसैं, तिहारमा ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुन सक्छ।’ मुडाबाट ५ देखि ६ लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुने थापाले बताए। कारागारमा बुनेका ३ नम्बरको मुडाको फुटकर मूल्य ३ सय ७५ र ४ नम्बरे मुडाको ४ सयदेखि ७ सय रुपैयाँसम्म बजारमूल्य रहेको उनले बताए।
आफूले जानेको सीप सदुपयोग गर्दै आयआर्जनका लागि स्रोतको रुपमा मुडा बुन्ने गरेको कैदीबन्दी विष्णु भुजेलले बताए। आपूmले बनाएको मुडाबाट आएको रकम परिवारलाई घरखर्चका लागि पठाउने गरेको उनले बताए।
विष्णु भुजेल, कुमार चेपाङ, टीकाराम विक, मिलन कुमाल, दिलबहादुर गौचन, वीरबहादुर थापा, रमेश सुनार लगायतले मुडा राम्रो बुन्ने गरेको उनीहरु बताउँछन्।
क्षमताभन्दा दोब्बर कैदी राख्दा समस्या
२५ कैदीबन्दी राख्न सकिने कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन्। कारागार सानो भएकाले कैदीबन्दीहरुमा सरुवा रोग रहेको छ। कैदीबन्दीहरुमा रहेको छाला रोगको समस्या पहिलाभन्दा नियन्त्रणमा आए पनि पूर्ण नियन्त्रणमा नआएको जेलर गौतमले बताए।
अझै पनि १५ कैदीबन्दीमा छाला रोग रहेको उनले बताए। गौतमका अनुसार कारागारमा डेढ वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा झन् समस्या पर्नुका साथै सामान्य रोग लाग्दा परीक्षणका लागि समेत दमौली अस्पताल लैजानुपर्ने भएको छ। कारागारमा हाल कार्यालय प्रमुख, लेखापाल, सहलेखापालदेखि हेल्थ असिस्टेन्डसम्मको पद रिक्त छ।
लेखापाल नहुँदा कारागारका कर्मचारीहरुले दसैंको तलबभत्ता लिनसमेत पाएका छैनन्। दसैंको तलबभत्ताका लागि कोष तथा लेखा नियन्त्रण कार्यालायकै भर पर्नुपरेको कारागार प्रमुख तीर्थ खनालले बताए। करागारका कर्मचारीको तलबभत्ता वितरण र कारोबारको कामका लागि कोलेनिकाका सहलेखापाल सुदिप पोख्रेल आउने गरेको खनालले बताए।
कुन कैदीलाई के अभियोग?
जिल्ला कारागारमा कर्तव्य ज्यानमा ३६, लागुऔषधमा १२, जबरजस्ती करणीमा ४३, नकावजनी चोरी र रहजनी चोरीमा ६, हातहतियार खरखजानामा २, सवारी ज्यानमा ४, ज्यान मार्ने उद्योगमा ६, काष्ट भंग/काठ ओसारपोसारमा ३, मानव बेचबिखनमा १, चोरी र विष्फोटक पदार्थमा ५, किर्ते÷मारेको पहर ओसारपोसारमा १ र आर्मी भगौडा आगो लगाइमा १ जना गरी थुनुवातर्फ ५५ र बन्दीतर्फ ५७ गरी १ सय १२ कैदीबन्दी जिल्ला कारागार तनहुँमा रहेको कारागार तथ्यांकमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।