|

बैतडी : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ३४ वर्षअघि २०४० सालमा शिलन्यास गरेको बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम अझै अधुरै छ। त्यसयताका तीन दशकमा धेरै सरकार फेरिए तर बैतडीको तल्लोसोराडका नागरिकको सडक सपना पूरा हुन सकेको छैन। 

आर्थिक वर्ष ०४०-४१ मा सुरु भएको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालु आर्थिक वर्षमा पूरा हुने डिभिजन सडक कार्यालय बैतडीको दाबी छ। ६२ किलोमिटर सडकमध्ये ५३ किलोमिटर ट्रयाक खुलिसकेको र बाँकी ९ किलोमिटर चालु आर्थिक वर्षमै खुल्ने डिभिजन सडक कार्यालयका प्रमुख ललितजन खनालले बताए। ‘सडक निर्माणका लागि गएको ४ वर्षयता केन्द्रीय तहबाट बजेट विनियोजन हुन थालेपछि निर्माण कार्यले तीव्रता पाएको हो,’ उनले भने, गत आर्थिक वर्षमा सडकका लागि १२ करोड विनियोजन भएकोमा चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन भएको छ।’

६२ किलोमिटर सडक निर्माणका लागि बैतडीको तल्लो सोराडवासीले ३ दशकभन्दा बढी कुरे पनि अब सडक निर्माण कार्य पूरा हुने भएपछि खुसी भएको आमचौराका नरायण सार्कीले ‘पहिलाको भन्दा धेरै सजिलो भएको छ, कम्तीमा अहिले कच्ची सडक त पुगेको छ यसले हामीलाई सजिलो भएको छ।’ उनले भने।

पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने कार्य सँगसँगै चलिरहेको डिभिजन सडक प्रमुख खनालले बताए। ‘पाटनदेखि स्याडीगाडसम्मको १३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यअनुसार काम भइरहेको छ,’ उनले भने, ‘यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको १८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का भइसकेको छ।’

सडक फराकिलो बनाउने, वाल लगाउने र बीचमा पर्ने खोलामा पुल निर्माणको काम भइरहेको खनालले बताए। स्याडीगाड खोला र बाग्गोठ खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको छ। पुल निर्माणले सडक सञ्चालनमा झन् सजिलो भएको प्रमुख खनालले बताए।

पाटन पञ्चेश्वर सडक निर्माण कार्यले तीव्रता पाएसँगै जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सजिलो भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। ‘अहिले पाटन–पञ्चेश्वर सडक निर्माणले तीव्रता पायो, यसबाट गाउँगाउँमा शाखा सडक पनि निर्माण भइरहेका छन्,’ उनले भने, ‘सडक पुगेसँगै यो क्षेत्रका नागरिकको दैनिकीमा सहजता आएको देखिन्छ।’

ग्रामीण उत्पादनले बजार पाउँदै

तल्लो सोराडमा पाटन पञ्चेश्वर सडक पुगेसँगै स्थानीय कृषि उपजले बजार पाउन थालेको छ। सडक पुगेसँगै किसान पनि व्यवसायिक खेती गर्न थालेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। ‘पहिलापहिला बारीमा फलेको तरकारी बारीमै सडेको हुन्थ्यो तर सडक पुगेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको छ, यसले किसानको आयआर्जनमा समेत वृद्धि भएको छ।’

तल्लो सोराडका किसान व्यवसायिक रूपमा अघि बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटिए महेश अवस्थीले बताए। उनले भने, ‘तल्लो सोराडमा सडक पुगेसँगै किसान व्यवसायिक बन्न थालेका छन्। नयाँ कृषि समूह पनि दर्ता भएका छन्।’

आफ्नो बारीमा उत्पादित तरकारीले बजार पाउन थालेको मेलौली ९ का किसान खडकबहादुर चन्दले बताए। उनले भने, ‘सडक पुगेसँगै हामीलाई व्यवसायिक बन्न सजिलो भएको छ। हाम्रा उत्पादनले बजार पाएको छ। हामी पनि सडक पुगेसँगै व्यावसायिक बनेका छौं।’

तल्लो सोराड क्षेत्रमा सडक पुगेसँगै उपचारका लागि भारत जानुपर्ने बिरामीको बाध्यता हटेको छ। ‘जिल्ला अस्पतालमा सडकको पहुँच नहुँदा अप्ठ्यारो हुने गरेको थियो। सडक पुगेसँगै त्यो बाध्यता हटेको छ’, मेलौलीका केशवसिंह भाटले भने, ‘भारतमा उपचारका नाममा हुने ठगीबाट बचेका छौं। अब यो सडकलाई छिट्टै कालोपत्रे गरेर यो क्षेत्रका नागरिकको माग पूरा गर्नुपर्छ।’

पाटन पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएसँगै तल्लो सोराड क्षेत्रबाट उपचारका लागि भारतीय बजारमा जाने रुपैयाँ बचेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘सडक नहुँदा समान्य उपचारका लागि पनि भारत जानुपर्ने बाध्यता थियो तर सडक पुगेसँगै त्यो बाध्यता हटेको छ। यसलाई सकेसम्म छिटो कालोपत्रे गर्नुपर्छ। जनप्रतिनिधिको हैसियतले गर्न सक्ने काम हामी पनि गर्छौं।’

भारतसँगको परनिर्भरता घट्दै

दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारत जानुपर्ने सोराडवासीको बाध्यतालाई विस्तारै अन्त्य गर्दै लगेको छ। पहिलापहिला तल्लो सोराडमा भारतीय मुद्राको मात्रै कारोबार हुन्थ्यो। बजारमा भारतीय सामग्री मात्रै पाउने गरेको थियो। पाटन पञ्चेश्वर सडकको ट्र्याक खुलेपछि अहिले बजारमा नेपाली सामग्री पाइन थालेको छ भने नेपाली मुद्राको कारोबार हुन थालेको छ। मेलौलीका सुरत पार्कीले भने, ‘अब यो सडकलाई प्राथमिकताका साथ कालोपत्रे गर्नुपर्छ।’

बैतडी सदरमुकाम पुग्नसमेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए। सडक विस्तारले बजारमा पाइने सामग्री पनि उपभोक्ताले रोजेर किन्न पाउने अवस्था आएको अध्यक्ष चन्दले बताए। अहिले महेन्द्रनगरदेखि सिधै मेलौली सम्म बससेवा सञ्चालन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.