बर्दिबास : सर्लाहीका २० वटा स्थानीय तहमध्ये ५ वटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले दुई, संघीय समाजवादी फोरम, राजपा नेपाल र नेपाल लोकतान्त्रिक फोरमले एक–एक स्थानीय तहमा विजय हासिल गरेका छन्।
जिल्लाको रामनगर गाउँपालिकामा कांग्रेसका कृष्णप्रसाद बर्मा ३ हजार ९ सय ८३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुलाल राय यादवले ३ हजार ३ सय १६ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित कांग्रेसकी नितुदेवी यादवले ३ हजार ८ सय ५७ पाइन् भने प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता देवीले ३ हजार ४ सय २७ मत प्राप्त गरिन्।
धनकौल गाउँपालिकामा कांग्रेसका रामआश्रय साह ४ हजार ५ सय २१ मत ल्याइ बिजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका गौरी शाहले ३ हजार २ सय ८२ मत प्राप्त गरिन्। उपाध्यक्षमा पनि कांग्रेसकी अकली सहनी ४ हजार ४ सय ६१ मत प्राप्त गरी विजयी भएकी छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी संगीता कुमारीले ३ हजार २ सय ९० मत प्राप्त गरिन्।
कौडेना गाउँपालिकाबाट राजपा नेपालले जिल्लामा पहिलो खाता खोलेको छ। राजपा नेपालका रामप्रसाद राय यादव ३ हजार ५ सय ४२ मत ल्याइ अध्यक्षमा र सोही पार्टीकी सुनिताकुमारी चौधरी ३ हजार ५ सय २९ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भए। अध्यक्षमा कांग्रेसका रमेशकुमार यादवले ३ हजार र उपाध्यक्षमा कांग्रेसकै इन्द्रकला देवीले २ हजार ९ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा रहे।
पर्सा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ। अध्यक्षमा किशुनदेव राय २ हजार ३ सय १६ र उपाध्यक्षमा इन्द्रकला देवी २ हजार २ सय ७७ मत ल्याइ निर्वाचित भए। उनीहरुको प्रतिद्वन्द्वीमा अध्यक्षमा राजपा नेपालका दिनेश यादवले १८ सय ४० र उपाध्यक्षमा नसुल खातुनले १९५१ मत प्राप्त गरे।
विष्णु गाउँपालिका अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहार लाल यादव १९ सय ४६ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अरबिन्दकुमार सिंहले १५ सय ४९ मत प्राप्त गरे। उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकै उषा देवी १९ सय ३२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अन्जुकुमारी बैठाले १७ सय २१ मत प्राप्त गरिन्। सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन्। अब १५ स्थानीय तहको नतिजा आउन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।