|

काठमाडौं : मञ्चमा पर्दा लगाएको छ। पर्दापछाडिबाट आवाज आउँछ- 'कार्यक्रम अबको एक मिनेटमा सुरु हुन्छ ६०.. ५९, ४८, ३९, २८, १५, १२, २, १'। 

पर्दा एक मिनेट पहिल्यै खुल्छ र कार्यक्रम सुरु हुन्छ। 'यसरी नै सबैचिज भनेको समयभन्दा अघि नै पूरा भए कति राम्रो हुन्थ्यो !' भन्दै देखा पर्छन् प्रस्तोता राजा राजेन्द्र।

दर्शक ताली बजाएर उनलाई स्वागत गर्छन्।

भदौ २ गतेदेखि साँझ साढे ५ बजे यसरी नै कार्यक्रम सुरु गरिरहेका छन् राजा राजेन्द्र। यो क्रम भदौ १८ गतेसम्म जारी रहनेछ।

यसअघि फरक फरक ठाउँमा गाईजात्रा महोत्सव गर्दै आएका कलाकारले यसपटक प्रज्ञा प्रतिष्ठानमा संयुक्त रुपमा महोत्सव गरिरहेका छन् 'तिते जिरे गाईजात्रा महोत्सव' नाममा। नेपालका टेलिभिजनहरुबाट प्रशारण हुने हाँस्य व्यंग टेलिसिरियलमा अभिनय गर्ने कलाकारले गाईजात्रा महोत्सवमा विभिन्न प्रस्तुति दिइरहेका छन्।

यसपटकको गाईजात्रा कार्यक्रमका प्रस्तुतिका मुख्य आकर्षण खोजेका छन् थाहाखबरका जयसिंह महराले।  

शिवहरी र सरिताको 'म्यारिज ब्युरो'

म्यारिज ब्युरोहरुलाई फेसबुक ट्विटर जस्ता समाजिक सञ्जाल र मोबाइलले सुकाएको गुनासो गर्दै शिवहरी पौडेल देखा पर्छन्। उनलाई साथ दिन आउछिन् सरिता गुरुङ।

लौरो समातेर कुप्री पर्दै कपाल फुलेका एक बुढा मञ्चमा देखा पर्छन्। उनी हुन् सुरेन्द्र केसी। तीन स्वास्नीबाट अघाएका उनी चौँथी स्वास्नी खोज्न म्यारिज ब्युरो आउँछन्।

'म्यारिज ब्युरो' मा मनोज आचार्य, किरण केसी, कविता शर्मा, शिवशंकर रिजाललगायतको प्रस्तुति छ।

कलाकार मनोज आचार्य ज्वाइँ खोज्न हिँडेका छन् छोरी कविता शर्मालाई लिएर। केटीलाई विदेशी पति चाहिएको हुन्छ। ब्युरोवाला शिवहरीले एक भारतीयलाई देखाउँछन्। तर केटी पक्षलाई मन पर्दैन। अनि अर्कोमा चिनियाँ केटा देखाउँछन्। केटीपक्षलाई चिनियाँ केटा मन पर्छ।

बिचमा भारतीय केटाले आफूलाई छोरी नदिएकोमा केटीपक्षका र ब्युरोवालाई नाकाबन्दी गरिदिन्छु भनेर धम्की दिन्छ। जसले नेपालमा संविधान निर्माणपछि भारतले गरेको नाकाबन्दीलाई सम्झाउँछ। त्यही बेला चीनबाट इन्धन ल्याएको विषयलाई पनि प्रस्तुत गर्न खोजिएको छ। साथै प्रस्तुतिले नेपालमाथि भारतको अनावश्यक चासो र चीनतिरको नेपालको लगावलाई झल्काउँछ।

जितु र दमनको 'मापसे'

ट्राफिक प्रहरीले काठमाडौंलगायत देशका विभिन्न भागमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कडाइ गरेको तर भ्रष्टाचारीलाई नसमातेकोमा व्यंग्य गरिएको प्रस्तुति हो- मापसे। यसमा झण्डै एक दशक पछि एकसाथ स्टेजमा देखिएका जितु नेपाल र दमन रुपाखेतीको प्रस्तुति छ। शिबहरी बैरागी, हिमा कोइराला लगायतको प्रस्तुति रहेको छ।

प्रस्तुतिमा प्रहरीले मापसे चेकिङमा कडाइ गरेपछि मापसेकर्ताले प्रहरी चेकिङ छल्न 'मापसे मार्ग' बनाएको उल्लेख छ। मापसेकर्ता बाठा भएपछि प्रहरी सडकमा चेकिङ छोडेर मापसेका घरमै गएर चेकिङ थालेको रमाइलो देखाइएको छ।

प्रहरीको 'प्रहरी मेरो साथी' अभियान यस्तै मापसे र भ्रष्टाचारीका लागि हो कि ! भनेर व्यंग्य गरिएको छ। साथै मापसे चेकिङ मेसिन 'कमिसन' का कारण नक्कली परेको भन्दै व्यंग्य गरिन्छ।

दीपक र दिपाको 'अस्पताल बिरामी छ'

अस्पतालमा दुइटा बेड छन्। एउटामा बिरामी छ भने अर्कोमा 'डाक्टर' !

बिरामीलाई केही हेरचाह छैन भने डाक्टरलाई स्लाइन चढाइएको छ। डाक्टरलाई- गोविन्द केसी, भनेर परिचय गराइन्छ।

डाक्टरको प्रमाणपत्र छानविन गर्न अख्तियार प्रमुख लोकमानसिंह कार्की जस्तै पहिरनमा आरपी भट्टराई आउछन्। डाक्टर कोही अनसनमा कोही अख्तियारमा हुन्छन्।

त्यत्तिकैमा पूर्व प्रम केपी शर्मा ओली जस्तै देखिने र लवजमा बोल्ने बिरामी आउँछन् र उनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रुपमा दीपकराज गिरी आउँछन्। उनी दुबै नेता दोहोरी खेल्छन्।

अनि गोविन्द केसी अस्पतालमा नेताको 'हावाताल' भनेर ब्यानरमा देखाउँछन्।

यो प्रस्तुतिले डा. गोविन्द केसीको पटक पटकको अनसन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विवाद र केपी शर्मा ओलीको सरकारबाट बहिर्गमन र पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणलाई व्यंग्य गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.