बैतडी : बैतडीको मेलौलीबाट महेन्द्रनगरका लागि छुटेको यात्रुबस बस भीमदत्त राजमार्गमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका ६ की ६४ वर्षीया झुन्टी देवी चन्द, बैतडी पञ्चेश्वर गाउँपालिका ४ की २४ वर्षीया कविता तिवारी र ठेगाना नखुलेकी अन्दाजी १९ वर्षीया रेवती भाट रहेका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परी अन्य ८ जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते ६ जनाको कैलालीको पद्मा अस्पातालमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेको २ जनालाई भारतको हल्द्वानी रेफर गरिएको छ। भारत रेफर गरिनेमा कञ्चनपुरको भीमदत्तनगर गोवरैयाका ५० वर्षीय रामदास र १५ बर्षिय सन्तोस दास रहेका प्रहरीले जनाएको छ। अन्य घाइतेको परिचय खुल्न सकेको छैन।
शनिबार बैतडीको मेलौलीवाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना७ख२७२३ नम्बरको बस भीमदत्त राजमार्गको चुरे गाउँपालिका–३ धपेनीमा आइतबार बिहान ५ बजे बस दुर्घटनामा परेको हो।
बस चालक पनि गम्भीर घाइते भएकाले बस दुर्घटनाको कारण खुल्न नसकेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए। सडक छेउका पिल्लर तोडेर बस घुम्तीवाट १०० मिटर तल खसेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।