|

काठमाडौं : प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरे पनि अधिकांश दलले १० प्रतिशत महिलालाई समेत उम्मेदवार बनाएका छैनन्। प्रमुख दलले उम्मेदवार बनाएका महिलालाई सुरक्षित क्षेत्र पनि दिइएको छैन। संविधानसभाको दोस्रो निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा १६५ मध्ये १५४ क्षेत्रमा पार्टीको तर्फबाट उम्मेदवार बनाएको छ। तर, उसले ९ जना महिलालाई मात्रै प्रत्यक्षमा टिकट दिएको छ। टिकट दिएकामध्ये आधाको क्षेत्र कमजोर मानिन्छ। 

नेकपा एमालेले १ सय ३ स्थान (सूर्य चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवारसमेत) मा उम्मेदवारी दिएकोमा ५ जनालाई र ६० स्थानमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले ४ जना महिलालाई मात्र उम्मेदवार बनाएका छन्। राप्रपा प्रजातान्त्रिकले क्रमशः ६ र ५ क्षेत्रमा मात्र उम्मेदवारी दिए पनि एक क्षेत्रमा पनि महिलालाई उम्मेदवार बनाएका छैनन्।

मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमले १ सय ७ जना उम्मेदवार उठाए पनि चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ। ६५ स्थानमा उम्मेदवार उठाएको राजपाले पनि ६ जनाभन्दा बढी महिलालाई उम्मेदवार बनाएको छैन। प्रतिनिधिसभाको निर्वाचनमा ९५ वटा दल र स्वतन्त्र गरी १ हजार ९ सय ४५ जनाले उम्मेदवारी दिए पनि २७ वटा पार्टीका १ सय ४६ जना मात्र महिला उम्मेदवार छन्। 

प्रमुख दलले महिला उम्मेदवार उठाएको अधिकांश निर्वाचन क्षेत्रमा विपक्षी दलका प्रभावशाली उम्मेदवार हुने वा विपक्षी पार्टीको पकड क्षेत्र हुने गरेको छ। जसले गर्दा महिला उम्मेदवारलाई सहज जित हात पार्न कठिन देखिन्छन्।

कांग्रेसले उम्मेदवार बनाएका ९ मध्ये ५ वा ६ जनाले मात्र निर्वाचन जित्न सक्ने आंकलन गरिएको छ। ‘प्रत्यक्ष निर्वाचन लड्छु भन्नेलाई टिकट दिनुपर्छ भनेर हामीले पार्टी नेतृत्वलाई सुझाव र दवाव दिएका थियौ’, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले भनिन्, ‘लोकतान्त्रिक गठबन्धनका कारण कतिपय स्थानमा तयार भएका महिलालाई उम्मेदवार बनाउन सकेनौँ।’

तेह्रथुममा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी केन्द्रीय सदस्य सीता गुरुङ यसअघिको संविधानसभामा निर्वाचित एमालेका भवानी खापुङसँग प्रतिष्पर्धा गर्दैछिन्। खोटाङबाट प्रतिनिधिसभामा उम्मेदवार भएकी सरस्वती बजिमय पनि अघिल्लो निर्वाचनमा विजयी एमालेकै विशाल भट्टराईसँग प्रतिस्पर्धा गर्दैछिन्। ‘राजनीतिक दलमा महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छ भन्ने मान्यता र प्रवृत्तिको विकास भएको छैन’, माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभामा तनहुँ २ को १ बाट उम्मेदवार बनेकी आशा कोइराला भन्छिन्, ‘कानुनी बाध्यता नभएकोले नै दलले महिलालाई प्रत्यक्षमा ३३ प्रतिशत उम्मेदवार नबनाएका हुन्।’

कांग्रेसबाट उम्मेदवार भएकी महालक्ष्मी उपाध्याय मकवानपुर २ मा एमालेका विरोध खतिवडासँग प्रतिष्पर्धा गर्दैछिन्। यसअघि सो क्षेत्रबाट एमालेले नै जितेको थियो। महोत्तरी २ बाट उम्मेदवार भएकी किरण यादवसँग ६ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाका अध्यक्ष मण्डलका शरत्सिंह भण्डारी प्रतिस्पर्धी छन्। 

दाङ १ बाट उम्मेदवार भएकी सुशीला चौधरी एमाले र माओवादी गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धा गरिरहेकी छन्। बाग्लुङ १ बाट उम्मेदवार बनेकी चम्पादेवी खड्काविरुद्ध राष्ट्रिय जनामोर्चासमेतको समर्थनमा वाम गठबन्धनबाट एमालेका सूर्यप्रसाद पाठक प्रतिस्र्धामा छन्। कैलाली ५ मा कांग्रेसबाट प्रधानमन्त्री देउवापत्नी डा. आरजु चुनावी मैदानमा छिन्। त्यहाँ एमालेका उम्मेदवारसँग उनको टक्कर परिरहेको छ भने कैलाली १ मा भने कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी मदनकुमारी शाहबीच प्रतिस्पर्धा छ। 

एमालेले उम्मेदवार बनाएको भगवती चौधरीलाई फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका विजयकुमार गच्छदारले टक्कर दिएका छन् भने उदयपुर १ मा एमालेको तर्फबाट उम्मेदवार बनेकी मञ्जुकुमारी चौधरीसँग कांग्रेसका डा.नारायण खड्का प्रतिस्पर्धा गर्दैछन्। गच्छदार र खड्का दुवैले यसअघिको संविधानसभा निर्वाचनमा विजय हासिल गरेका थिए।

झापा- २ बाट उम्मेदवार बनेकी पवित्रा खरेल निरौलाले झापा कांग्रेसका सभापति उद्धब थापासँग प्रतिस्पर्धा गर्नुपरेको छ भने, स्याङ्जा २ बाट उम्मेदवार बनेकी एमालेकी पद्माकुमरी अर्यालले उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका हेभीवेट नेता गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछिन्।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल यसअघिको संविधानसभा निर्वाचनमा एमालेलाई भारी मतले पराजित गर्न सफल कांग्रेसका मदनबहादुर अमात्यसँग प्रतिस्पर्धा गर्दैछिन्। माओवादीका तर्फबाट उम्मेदवार भएकी उर्मिला अर्याल पर्सा ४ मा कांग्रेसका रमेश रिजाल र राजपाका लक्ष्मणलाल कर्णसँग प्रतिस्पर्धामा छिन्।

संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग पराजित माओवादीकी विना मगर यसपटक कञ्चनपुरमा उनै विष्टसँग प्रतिस्पर्धामा छिन् भने रुकुम (पूर्व)बाट उम्मेदवार बनेकी कमला रोका पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई व्यवस्थापन गर्दै कांग्रेसका शरिशंकर रोका मगरसँग भिड्दै छिन्। 

प्रतिनिधिसभामा प्रमुख दलका महिला उम्मेदवार
कांग्रेसका १ सय ५४ उम्मेदवारमध्ये ९ महिला
नेकपा एमालेका १०३ उम्मेदवारमध्ये ५ जना महिला
नेकपा माओवादी केन्द्रका ६० उम्मेदवारमध्ये ४ जना महिला
राप्रपाका ६ उम्मेदवारमध्ये महिला उम्मेदवार शुन्य
राप्रपा (प्रजातान्त्रिक) का ५ मध्ये महिला उम्मेदवार शुन्य
नयाँशक्ति १ सय २३ मध्ये ३ जना महिला उम्मेदवार 
संघीय समाजवादी फोरमका १०७ मध्ये ४ जना महिला उम्मेदवार 
राजपा ६५ मध्ये ६ जना महिला उम्मेदवार

अन्य साना दलहरु राष्ट्रिय जनमोर्चाले ९, एकीकृत राप्रपा (राष्ट्रवादी) र नेपाल मजदुर किसान पार्टीले ८/८ र राष्ट्रिय जनमुक्ति पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ। यसैगरी नेपाली जनता दलले ४, विवेकशील साझाले ३, राष्ट्रिय जनमुक्ति पार्टीले ६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३,  बहुजन शक्ति पार्टीले २, नेपाल संघीय समाजवादी पार्टीले ३, नेकपा माले ३, देशभक्त जनगणतान्त्रिक मोर्चाले ३, चुरेभावर लोकतान्त्रिक पार्टीले २, नेपाल दलित पार्टीले २ र मंगोल नेशनल अर्गनाइजेसनले ३ जना महिलालाई उम्मेदवार बनाएका छन्।

२९ जिल्लामा महिला उम्मेदवार नै छैनन्

२९ वटा जिल्लामा प्रत्यक्षतर्फ एकजना पनि महिला उम्मेदवार छैनन्। ती जिल्लाहरुमा दार्चुला, बैतडी, डोल्पा, मुगु, जुम्ला, जाजरकोट, बाजुरा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्वु, दोलखा, रसुवा, गोरखा, मनाङ, लम्जुङ, मुस्ताङ, म्याग्दी, इलाम, धनकुटा, वारा, तनहुँ, पाल्पा, अर्घाखाँची, सल्यान, दैलेख, रुकुम (पश्चिम) र डडेलधुरा छन्। 

प्रदेशसभामा ५० प्रतिशत महिला हुनुपर्नेमा ७ प्रतिशत पनि छैन

प्रदेशसभाको गठन गर्दा राजनीतिक दलबाट निर्वाचितमध्ये ५० प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरेको छ। तर, प्रमुख दले प्रदेश सभामा ७ प्रतिशत महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छैनन्। प्रदेश सभामा निर्वाचित प्रदेश सांसदको कुल संख्या ३ सय ३० हो। नेपाली कांग्रेसले करिब ३ सय २१ स्थानमा प्रदेशसभामा उम्मेदवार उठाएकोमा ६ जना मात्र महिला उम्मेदवार छन्। कांग्रेसले ताप्लेजुङमा लिलादेवी बोखिम, बझाङमा पूर्वसांसद चन्द्रादेवी जोशी, काठमाडौं– ५को १ मा रमादेवी पौडले गुरागाईलाई उम्मेदवार बनाएको छ।

कास्की– ३ को १ मा पूर्वसांसद शारदा पौडेल र कैलाली ५ को १ मा सुश्री जीवन रानालाई प्रदेश सभातपर्फ कांग्रेसले उम्मेदवार बनाएको छ। एमालेले भने म्याग्दी– १को २ मा नरदेवी पुन मगर, इलाम १ को १ मा विनु लङ्वा, उदयपुर– २ को २ मा कला घले, महोत्तरी– १ को १ मा शारदादेवी झा, सर्लाही १ को २ मा बेची लुङ्गेली, काठमाडौं– १ को १ मा विष्णुकुमारी भुषाललाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ।

एमालेले काठमाडौं क्षेत्र नम्बर ८ को २ बाट पार्टी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं– १० को २ मा रमा आलेमगर, रुपन्देही क्षेत्र नम्बर ४ को एकमा पल्लवी शुक्ला र बाँके क्षेत्र नम्बर एकको २ मा आरती पौडेललाई प्रदेशसभातर्फ उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले भने नुवाकोट क्षेत्र नम्बर १ को १ मा पूर्वराज्यमन्त्री राधिका घले, गोरखा क्षेत्र नम्बर २ को १ मा कमला नहर्की, बझाङ २ मा देवकी मल्ल, मोरङ क्षेत्र नम्वर ३ को १ मा गीता तिम्सिना, मकवानपुर क्षेत्र नम्बर २ को १ मा कुमारी मोक्तानलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ। 

माओवादी केन्द्रले बाराको क्षेत्र नम्बर ३ को १ बाट पूर्वसांसद ज्वालाकुमारी साह, तनहुँ क्षेत्र नम्बर २ को १ बाट आशा कोइराला र बाँके क्षेत्र नम्बर १ को १ बाट कृष्णा केसी उम्मेदवार बनेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.