विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाउन माग

|

सुर्खेत : आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न नपाउने भन्दै यहाँका दृष्टिविहीनहरूले चिन्ता व्यक्त गरेका छन्।उनीहरूले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफुहरूले रोजेर मतदान गर्न लगेका व्यक्तिले पनि झुक्याएर आफ्नै रोजाइको दलका उम्मेदवारलाई मतदान गर्ने गरेको गुनासो गरे।

उनीहरूले सहयोगीले नै झुक्काएर अरुलाई भोट हाल्दा आफूहरू पूर्ण रूपमा मतदानबाट वञ्चित भएसरह भएको भन्दैै दृष्टि कमजोर भएका व्यक्तिहरूका लागि विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था गर्नुपर्ने बताए।

सुर्खेत वीरेन्द्रनगर–८ खजुराका मेनका आर्चायले चुनावका लागि घरका व्यक्तिलाई सहयोगी बनाएर भोट हाल्न जाँदा आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न गए पनि हुन्छ भन्ने तर पछि अर्कैलाई भोट हालेको सुन्दा नमीठो अनुभूति हुने बताइन्।

परम्परागत निर्वाचन प्रणाली परिमार्जन गरेर मेसिनबाट भोटिङ गर्ने व्यवस्था गरेमा रोजेको ठाउँमा आफैं भोट खसाल्न पाउने मेनकाको भनाइ छ। सुर्खेत क्याम्पसमा स्नातक तह अध्ययनरत अछाम तुर्माखादका वसन्त जैसी विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था  मिलाउनुपर्ने बताउँछन्।

२०७० सालको संविधानसभा निर्वाचन, स्थानीय तह निर्वाचनमा सहभागी भएकी सोमना खड्काको भोट पनि सहयोगीमार्फत हालिएको हो। तर उनले चाहेको उम्मेदवारलाई भोट हालेको अनुभूति गर्न सकिनन्। अन्तै मत खसेको थाहा पाउँदा उनको मन अमिलो भयो। 

नेत्रहीन संघ सुर्खेतका सचिव समेत रहेकी सोमना खड्काले सहयोगीमार्फत भोट हाल्दा गोपनियता भंग हुने भन्दै आगामी निर्वाचनमा त्यसको विकल्प खोज्न निर्वाचन आयोगलाई आग्रह गरिन्।  

यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाले दृष्टिविहीन  व्यक्तिको मताधिकारलाई सुरक्षित गर्न स्वयं उसैले रोजेको विकल्प प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको उनले बताइन्। मतदाता शिक्षा नपाएको गुनासो केही ठाउँबाट आए पनि स्थानीय तहको निर्वाचनको तुलनामा बढी प्रभावकारी काम गरेको थापाको दाबी छ। 

अपाङ्गता भएका र दृष्टिविहीन मतदाताहरूका लागि हालका लागि परिवारको कुनै सदस्यले वा उनीहरूले रोजेको व्यक्तिको सहयोगमा मतदान गर्नुको विकल्प नरहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.