|

सुर्खेतः यसअघिका चुनावी प्रतिष्पर्धामा सहभागी भएर हारमा ह्याट्रिक गरिसकेका नेकपा एमालेका नवराज रावत वाम गठबन्धनबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सुर्खेत क्षेत्र नम्बर– २ मा विजयी भएका छन्। 

उनको विजयसँगै सुर्खेत जिल्लामा वाम गठबन्धनले आफूलाई बलियो सावित गरेको छ। एक लाख दुई हजार ९४० मतदाता रहेको क्षेत्र नम्बर– २ मा विजयी भएका रावतले ३७ हजार ४४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार एवम् पूर्व मन्त्री हृदयराम थानीले २८ हजार ६४६ मत ल्याएका थिए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थानी २०७० सालमा सुर्खेत क्षेत्र नम्बर– २ बाट संविधानसभा निर्वाचनमा विजयी भएर सहकारी तथा गरिबी निवारणमन्त्री भएका थिए। सदरमुकाम वीरेन्द्रनगर नगरपालिका, पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकालाई समेटेर प्रतिनिधिसभा क्षेत्र नम्बर– २ बनाइएको थियो।

पराजित गर्नेले नै चुनावी कमाण्डर बनेर जिताए
२०६४ सालको निर्वाचनमा रावत माओवादीका उम्मेदवार नरबहादुर बिष्टसँग पराजित भएका थिए तर यस पटकको निर्वाचनमा उनै बिष्टले रावतको चुनावी कमाण्डर बनेर रावतको जीतमा इटा थपेका छन्।

०६४ को निर्वाचनमा प्रतिष्पर्धी बनेर चुनावमा सहभागी भएका हालका माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य नरबहादुर बिष्ट अहिले रावतको चुनावी कमाण्डर बनेर सँगसँगै चुनावी दौडाहामा थिए।

रावतको तुलनामा थानी ‘हेभिवेट’ नेताका रूपमा चिनिन्थे। थानीले मन्त्री हुँदा आफूले गरेका विकास निर्माणलाई आधार बनाएर जित्ने दाबी गर्दै आएका थिए भने रावतले गठबन्धनकै मतलाई आधार मानेर चुनावमा जित्ने दाबी गर्दै आएका थिए। तर रावतका चुनावी कमाण्डर बिष्ट भने फराकिलो मतान्तरमा रावत विजयी हुने दाबी गर्दै आएका थिए। 

भाग्यमानी नेता, जसले हारमा ह्याट्रिक गर्दा पनि टिकट पाइरहे
हाल नेकपा एमालेका प्रदेश नम्बर– ६ कमिटी सदस्य रहेका रावत नेकपा एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हुन्। रावत यस्ता भाग्यमानी नेता हुन्, जसले अधिकांश निर्वाचनमा हारिरहँदा पनि टिकट पाइरहे।

२०५१ को मध्यावधि निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका रावत दुई पटक कांग्रेस र एक पटक माओवादीसँग पराजित भएका थिए। जिविस उपसभापति, दुई कार्यकाल पार्टी प्रमुख, चारवटा संसदीय निर्वाचनको टिकट पाइसकेका रावत पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका तप्तबहादुर बिष्टसँग पराजित भएका थिए। 

साविकको २ नम्बर क्षेत्रबाट निरन्तर चुनावी मैदानमा उत्रिइरहने थानीसँग हार र जीतको बराबर अनुभव छ भने रावतसँग हारमा ह्याट्रिक अनुभव थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.