|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाइ बढी स्थानमा जित हात पारेको छ। यही मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम प्राप्त भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारहरुले दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरेका हुन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १ सय ६५ स्थानको लागि भएको प्रतिस्पर्धामा एमालेले ८० र माओवादी केन्द्रले ३६ गरी १ सय १६ स्थानमा जित हात पारेका छन्। वाम गठबन्धनलाई प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन १ सय १० सिट आवश्यक थियो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २३ स्थान अर्थात १३ प्रतिशत र मधेसी दलको गठबन्धनले २१ सिट अर्थात १२ दशमलव ७२ प्रतिशत स्थानमा जित हात पारेका छन्। प्रतिनिधिसभामा अन्य ५ जना (नयाँ शक्ति, नेपाल मजदूर किसान पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र)ले विजय हासिल गरेका छन्।

प्रदेशसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले समग्रमा ७३ प्रतिशत अर्थात् २ सय ४१ स्थानमा जित हात पारेको छ। प्रदेशसभाका ३ सय ३० स्थानका लागि भएको प्रतिस्पर्धामा एमाले एक्लैले ५१ प्रतिशत अर्थात् १ सय ६८ स्थानमा जित हासिल गरेको छ। माओवादीका ७३ जना सांसदले प्रदेश सभाको प्रत्यक्षमा सिट सुरक्षित गरेका छन्, यो २२ प्रतिशत हुन आउँछ। कांग्रेसले भने प्रदेश सभामा जम्मा ४१, फोरमले २४ र राजपाले १६ स्थानमा जित हात पारेका छन्।

६ वटा प्रदेशमा दुई तिहाइ बढी

प्रदेशसभाको प्रत्यक्षतर्फ एमाले-माओवादी गठबन्धनले दुई तिहाइ बढी स्थानमा जित हासिल गरेको छ। १ नम्बर प्रदेशमा वाम गठबन्धनले ५६ मध्ये ४६ स्थानमा विजय प्राप्त गरेको छ। ३ नम्बर प्रदेशका ६६ मध्ये ५७ सिट र ४ नम्बर प्रदेशमा ३६ मध्ये २६ स्थानमामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। ५ नम्बर प्रदेशमा प्रत्यक्षतर्फको ५२ सिटमध्ये ४२ स्थानमा वाम गठबन्धनले जित निकालेको छ। ६ नम्बर प्रदेशको २४ सिटमध्ये २३ र ७ नम्बर प्रदेशको ३२ सिटमध्ये २७ सिटमा वाम गठबन्धनका उम्मेदवारले जित हात पारेका छन्।

कांग्रेसले भने १ र २ नम्बर प्रदेशमा ८/८, ३ र ५ नम्बर प्रदेशमा ७/७ वटा, ४ नम्बरमा ६ वटा, ७ नम्बरमा ४ वटा र ६ नम्बर प्रदेशमा एउटा क्षेत्रमा जित हात पारेको छ। ६ नम्बर प्रदेशमा जित हात पार्ने कांग्रेसका एक्ला उम्मेदवार हुम्लाका जीवनबहादुर शाही हुन्।

दुई नम्बर प्रदेशमा वामको बहुमत छैन

प्रदेशसभाको प्रत्यक्षतर्फ समग्रमा दुई तिहाइ बहुमत ल्याए पनि वाम गठबन्धनले २ नम्बर प्रदेशमा भने ३१ प्रतिशत अर्थात ६४ सदस्यमध्ये २० स्थानमा मात्र जित हासिल गरेको छ। यो प्रदेशमा संघीय समाजवादी फोरमले २० र राष्ट्रिय जनता पार्टीले १५ स्थानमा जीत हासिल गरेको छन्। दुई मधेशवादी दलको यो संख्या प्रत्यक्षतर्फ बहुमत अर्थात ५५ प्रतिशत हुन आउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.