विजयी १८ उम्मेदवारसहित ४१ जनाले मात्र जोगाए जमानत
विजयी १८ उम्मेदवारसहित ४१ जनाले मात्र जोगाए जमानत
विराटनगरः मोरङमा प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवारी दिएका १६९ उम्मेदवारमध्ये १२८ जनाको जमानत जफत भएको छ।
जिल्लाबाट विजयी १८ उम्मेदवारसहित ४१ जनाले मात्र जमानत जोगाएका छन्। प्रतिनिधिसभातर्फ ४८ र प्रदेशसभातर्फ ८० जना उम्मेदवारको जमानत जफत भएको हो।
निर्वाचन ऐनअनुसार सदर मतको १० प्रतिशत प्राप्त नगर्ने उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको धरौटी जफत हुन्छ। १० प्रतिशत कटाउने उम्मेदवारले भने प्रक्रिया पूरा गरेमा धरौटी फिर्ता पाउँछन्। जिल्लामा प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २८ उम्मेदवारले मात्र १० प्रतिशत मत ल्याएका छन्।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर– १ मा १० जनाले उम्मेदवारी दिएकामा आठ जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर– २ मा १२ जनाले उम्मेदवारी दिएकामा १० जना, क्षेत्र नम्बर– ३ मा १३ जनाले उम्मेदवारी दिएकामा ११ जना, क्षेत्र नम्बर– ४ मा नौ जनाले उम्मेदवारी दिएकामा सात जना र क्षेत्र नम्बर– ६ मा १० जनाले उम्मेदवारी दिएकामा आठ जनाले जमानत जोगाउन सकेनन्। ती क्षेत्रमा विजेता र प्रमुख प्रतिष्पर्धीको मात्र जमानत जोगिएको छ।
क्षेत्र नम्बर– ५ मा भने सात जनाले उम्मेदवारी दिएकामा चार जनाको जमानत जफत भएको छ।
क्षेत्र नम्बर– ५ मा वाम गठबन्धन, नेपाली कांग्रेसबाहेक संघीय समाजवादी फोरमका राजकुमार यादवले जमानत जोगाएका छन्। प्रतिनिधिसभामा यादवले मात्रै वाम गठबन्धन र नेपाली कांग्रेसबाहेकका दलबाट जमानत जोगाएका हुन्।
प्रदेशसभातर्फ क्षेत्र नम्बर– १ ‘क’मा उम्मेदवारी दिएका ११ जनामध्ये नौ जनाले जमानत जोगाउन सकेनन् भने १ ‘ख’मा नौ जनामध्ये सात, क्षेत्र नम्बर २ ‘क’मा आठमध्ये छ, २ ‘ख’मा नौमध्ये सात, क्षेत्र नम्बर ३ ‘क’मा आठमध्ये छ, ३ ‘ख’मा नौमध्ये सात उम्मेदवारको जमानत जोगिएन।
त्यसैगरी क्षेत्र नम्बर– ४ ‘क’मा नौमध्ये सात, ४ ‘ख’मा सातमध्ये चार जनाको जमानत जोगिएन। उक्त क्षेत्रमा वाम गठबन्धन र नेपाली कांग्रेसबाहेक संघीय समाजवादी फोरमका उम्मेदवार श्रीराम कामतले पनि जमानत जोगाएका छन्।
क्षेत्र नम्बर– ५ ‘क’मा छमध्ये तीन जनाको जमानत जोगिएको छ भने ५ ‘ख’मा १० मध्ये तीन जनाले जमानत जोगाएका छन्। क्षेत्र नं.– ५ का दुवै प्रदेशसभामा वाम गठबन्धन र नेपाली कांग्रेसबाहेक संघीय समाजवादी फोरमका उम्मेदवारको जमानत सुरक्षित भएको हो।
क्षेत्र नम्बर– ६ ‘क’मा १२ जनाले उम्मेदवारी दिएकामा १० र ६ ‘ख’मा १० जनाले उम्मेदवारी दिएकामा सात जनाको जमानत जोगिएन। ६ ‘ख’मा वाम गठबन्धन र कांग्रेससहित संघीय समाजवादीका उम्मेदवारले पनि जमानत बचाएका छन्।
फोरमका प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार उम्मेदवारले जमानत जोगाएका हुन्। उक्त पार्टीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर– ४ बाहेक पाँचवटा क्षेत्रमा उम्मेदवारी दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।