|

सुर्खेतः सधैँजसो सुनसान देखिने वीरेन्द्रनगरमा रहेको क्षेत्रीयस्तरको संग्रहालय आइतबार मानिसहरूको भीडले खचाखच भरिएको थियो।

साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाममा भएर पनि सुनसान हुने उक्त संग्रहालय प्रायः सुनसान नै हुन्छ।

प्रचार प्रसारको अभाव र हेर्नलायक विशेष चिज नभएर पनि संग्रहालयमा अवलोकन गर्नेहरूको संख्या एकदमै न्यून हुने गरेको छ। तर आइतबार भने थुप्रै विद्यार्थी र सर्वसाधारण नागरिकहरू लाइनमै बसेर संग्रहालयभित्र प्रवेश गर्न हतारमा देखिन्थे।

नेपाल सरकार पुरातत्त्व विभाग, काठमाडौंद्वारा आयोजित पुरातात्त्विक, ऐतिहासिक एवं धार्मिक सम्पदाहरूको फोटो प्रदर्शनी कार्यक्रममा सदरमुकाम वीरेन्द्रनगरमा रहेका निजी तथा सामुदायिक विद्यालयबाट शिक्षक तथा विद्यार्थी एवं नागरिकहरूको भीड लागेको हो। विद्यार्थीहरूको उपस्थितिले शैक्षिक उद्देश्यसँग जोडिएको फोटो प्रदर्शनीले सार्थकता पाएको आयोजकको भनाइ छ।

प्रदर्शनीको पहिलो दिन दिउँसोसम्म मात्रै चार हजारभन्दा बढी अवलोकनकर्ताहरू आएको आयोजकले जनाएको छ।

यस्तो छ फोटो प्रदर्शनीको उद्देश्य
पुरातत्त्व विभागको आयोजनामा भएको फोटो प्रदर्शनीमा ८१ वटा फोटा राखिएको छ। ती फोटामा हरेक जिल्लाको प्रतिनिधित्व गराउन खोजिएको पुरातत्त्व विभागका अधिकृत एवं फोटोग्राफर सुनिल डंगोलले जानकारी दिए। डंगोलले भने, ‘फोटो प्रदर्शनी गर्नुको मुख्य उद्देश्य नेपालभित्र रहेका विभिन्न स्थानहरूको बारेमा जानकारी दिनु नै हो।’ 

उनले नेपालभित्रै रहेका कतिपय सम्पदाहरूको बारेमा सबैलाई जानकारी नभएको र सबैले घुम्ने अवसर नमिलेको हुनसक्ने भन्दै त्यसैले हरेक जिल्लामा पुगेर फोटो प्रदर्शनी गरिएको बताए। ‘सम्पदाको बारेमा बुझेपछि संरक्षण र संवद्र्धन एवं प्रवद्र्धनका लागि लागून् भन्ने चाहना हो’, उनले भने।

धेरैभन्दा धेरै अवलोकनकर्ताहरूको उपस्थिति चाहेकाले निःशुल्क प्रवेशको व्यवस्था गरेको डंगोलको भनाइ छ। आइतबारदेखि सुरु भएको फोटो प्रदर्शनी ११ गतेसम्म चल्नेछ।

हाँडिगाउँको जात्रादेखि भूकम्पअघिको धरहरासम 
फोटो प्रदर्शनीमा भूकम्पअघिको धरहरा, जानकी मन्दिर, हाँडिगाउँको जात्रालगायतका विभिन्न हिमाल, जातजातिका वेशभूषा पनि राखिएको छ।

सुदूरपश्चिमका देवल, बौद्धनाथ, स्तुपा, मुस्ताङका विशेष गुफा, डोल्पाको त्रिपुरासुन्दरी मन्दिरलगायतका स्थानहरूलाई प्रदर्शनीमा चित्रमार्फत् देखाइएको छ। 

फोटोग्राफर डंगोलले सुर्खेत जिल्लावासीले यहीँ बसेर देशका सम्पदाहरूको बारेमा अधिकतम जानकारी लिऊन् भन्ने आयोजकको अपेक्षा रहेको भन्दै यो प्रदर्शनीले आम मानिसमा रुचि बढाएर सम्पदा संवद्र्धन, संरक्षण र प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।

डंगोलले विगतका प्रदर्शनीका २० देखि २५ हजार दर्शकले अवलोकन गर्दै आएकामा यस वर्ष ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान रहेको बताए। हरेक वर्ष एउटा जिल्लामा फोटो प्रदर्शनी गर्दै आएको पुरातत्त्व विभागले यस वर्ष सुर्खेतमा गरेको हो। 

प्रदर्शनी बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म जारी रहने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.