|

बुुटवल : प्रदेश नम्बर– ५ को राजधानी बुटवल हुनुपर्ने मागसहित आन्दोलन सुरु भएको छ। नेकपा एमाले र नेपाली कांग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका हुन्।

वाम गठबन्धन निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बुटवलमा बुधबार साँझ मशाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेका हुन्। अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मशाल जुलुस निकालेको थियो। 

‘प्रदेश नम्बर– ५ को राजधानी बुटवल घोषणा गर’, ‘निर्वाचनको मतपरिणाम सार्वजनिक गर’लगायतका प्ले कार्डसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

मशाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए।

कांग्रेस पनि सरकारलाई दबाब दिन सडकमा 
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर– २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ। बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर– ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको जनाएको हो।

कांग्रेस नेता हरि लम्सालले प्रदेशको राजधानी बुटवलबाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए। आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने माग उनले गरे।

कांग्रेसले आन्दोलनको संकेत स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजेसम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ। यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बलबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले बताए।

नेकपा एमालेले पनि दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ। स्थानीय संघसंस्थाहरूलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाब ¥याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.