ओभरटेक र गाडी बिग्रँदा घण्टौँ जाम

|

मुग्लिन : चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा अहिले यात्रुहरुलाई जोखिम कम छ। तर, सास्ती भने उस्तै छ। घण्टौँ गाडीहरु जाम हुँदा सास्ती खेप्नुपर्ने अवस्था छ। तर, ६ महिना अघिको जस्तो जोखिमयुक्त पीडा भने यात्रु र यातायातकर्मीहरुले खेप्नुपरेको छैन।

सामान्यतः न्यूनतम तीनदेखि पाँच घण्टा मुग्लिन सडककको ३६ किलोमिटर यात्रामा लाग्ने गरेको छ। मुख्य गरी गाडीहरुको उछिनेर जाने प्रवृत्ति र वेलावेलामा गाडी बिग्रँदा ठूलै समस्या हुने गरेको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त बताउँछन्।

विगतभन्दा उक्त सडकमा अहिले निर्माणको कामले तीव्रता पाएको छ। राति १० बजेदेखि ४ बजेसम्म ६ घण्टा गाडी रोकेर भित्तो काट्ने काम भइहरको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव बताउँछन्। उनका अनुसार रातिको काम भने प्रभावकारी हुन सकेको छैन। दिउँसोमा पनि केही ठाउँमा निर्माणको क्रम चलिरहेकाले एकतर्फ गाडी सञ्चालन हुने गरेको छ।

यातायातकर्मीहरुले समेत विगतभन्दा केही राहत महसुस भएको बताएका छन्। चितवन काठमाडौं सवारी चलाउँदै आएका एकजना चालक सुनील लामा ६ महिना अघिको भन्दा ठूलै राहत महसुस गरेको बताउँछन्।

उक्त सडकको ३४ किलोमिटर क्षेत्रमा अहिले सडक चौँडा पार्ने क्रम चलिरहेको छ। ६ महिनाअघि पहिरो तथा विभिन्न कारणले सडक अवरुद्ध हुँदा २,३ दिनसम्म यात्रुहरु जाममा बस्नुपर्ने बाध्यता थियो। त्यस्तो सास्ती अहिले नभएको एकजना यात्रु खगेन्द्र मणि बानियाँ बताउँछन्।

लम्जुङबाट चितवन आएका यात्रु  बानियाँ उक्त सडकमा २÷४ घण्टा समय लाग्ने भए पनि सवारीहरु दिनभर भने रोकिनु नपरेको अनुभव सुनाउँछन्।

नारायणगढ मुग्लिन सडक निर्माणको अवधि सकिएर २ पटक म्याद थप भइसकेको छ। आगामी चैतसम्म यसको म्याद छ। अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादव बताउँछन्।

तीन तहको कालोपत्रे गर्नुपर्ने उक्त सडकमा करिब १३ किलोमिटर पहिलो तहको कालोपत्रे भइसकेको छ भने १० किलोमिटर दोस्रो तहको कालोपत्रे सम्पन्न भएको उनको भनाइ छ। जसका कारण पनि यातायात केही सहज छ।

यात्रुहरुलाई असर नपरोस् भनेर प्रहरी र ट्राफिक परिचालन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताउँछन् जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त। आगामी चैतसम्ममा सडक निर्माणको काम सके यात्रुहरुमा सास्ती हुने थिएन। सबै काम सक्ने सम्भावा न्यून देखिन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.