|

चितवन : साँझको ६ बज्न ४ मिनेट बाँकी थियो। चितवनस्थित नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो। नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिँदै थिए। किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्ट डाउन गर्दै थियो।

लोकप्रिय व्याण्ड नेपथ्यको प्रस्तुति हेर्न आइपुगेका दर्शकले समय कुर्न सकेनन्। चिसो मौसमको बेला चितवनको नारायणी किनार तात्न थाल्यो। दर्शकको हुटिङ बढ्न थाल्यो। अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ रमणीय बन्दै थियो। जब काउन्ट डाउन शून्यमा झर्‍यो, तब ‘स कर्णाली’ गुञ्जिन सुरु भयो। दर्शक उफ्रीउफ्री मच्चिन थाले।

तिलचामल हुँदै गरेको लामो कपाल पछाडि बाँधेर हल्का फुलेको जुँगा मुसार्दै निस्किए, अमृत गुरुङ। उनलाई देख्नासाथ दर्शक उत्साहित भए। स्टेज तात्न थाल्यो। ‘भेडाको ऊन जस्तो’ गीत स्टेजमा गाउन थाले। गुरुङको स्वरसँग दर्शकको स्वर मिसियो। ‘छेक्यो छेक्यो देउराली डाँडा’ पनि पस्किए। त्यतिबेलासम्म भीडले नारायणी किनार ढाकिसकेको थियो।

दाताज इभेन्ट एण्ड म्याजेनमेन्टले चितवनको अत्याधुनिक प्रविधिसहितको संगीत प्रणालीको नेपथ्य व्याण्डको ‘नेपथ्य लाईभ २०१८’ आयोजना गरेको थियो।

‘चार वर्षदेखि सांगीतिक कार्यक्रम गर्दै आएको थिएँ, यति ठूलो भीडका बीच नेपालकै उत्कृष्ट व्याण्ड ल्याएर दर्शक नचाउन पाएकामा खुसी छु’, इभेन्ट प्रमुख दाताराम घिमिरेले भने।

‘सात गण्डकीको संगमस्थल नारायणी नदीको किनार, चितवनको यो माहोल, माघे संक्रान्तिको दिनमा तपाईंहरू माझ आउँदा हामी सबै हर्षले गदगद भएका छौँ, हो...ई।’ दर्शकले 'हो’मा हो मिलाए। प्रमुख अमृत गुरुङले दुई हात जोडेर नमन गर्दै शिर झुकाए।

फरक प्रस्तुति र मौलिक स्वाद पस्कने व्याण्डले २५औँ वर्षगाँठ मनाइरहेको छ। त्यही अवसरमा अठ्ठाईस वर्षअघिको पहिलो गीत, ‘आँगनैभरि’ प्रस्तुत गर्‍यो। प्रस्तुतिसँगै सम्बन्धित दृश्य पनि साथसाथै देखाउनु नेपथ्यको आफ्नो पहिचान हो। सन्देशमूलक शब्दचयन गुरुङको आफ्नै मौलिकता हो।

‘आज मलाई यस्तो लागेको छ कि म फूलैफूलको बीचमा बसेर गीत गाइरहेको छु, भाइबहिनीहरू माझ गीत गाउँदा मलाई मेरो बैँसका यादहरू आइरहेका छन्’, गुरुङले अलिकति बैँसका कुरा उधिन्दै भने, ‘मेरो अनुरोध छ है, कुनै पनि बच्चालाई घरभित्र लुकाएर राखिएको छ भने ती बच्चाहरूलाई स्कुल जानका लागि सबैले सहयोग गर्नु हो....ई।’ दर्शकले एकै स्वरमा फेरि 'होई'मा होई मिलाए।

गायकको सुरुदेखि अन्त्यसम्म युवा जोश हटेन। सुरुवाती चरणमा नयाँ गीत ‘शिरफूल शिरैमा’ गाए। यसपछि ‘खान्न म त लामपाते सुरती’, 'उडायो रेलैले', 'जोमसोमै बजार', 'जोगले हुन्छ भेट' क्रमैसँग गाए। यति गीत गाउँदा करिव एक घण्टा बित्यो।

नारायणी किनार तात्यो। युवाहरु लुगा खोले रै गीतमा झुम्न थाले। जोमसोमै बजार‘पछि माहोल थप तात्यो। नेपथ्य लाईभ हेर्दै व्यवस्थापक मध्यका एक सुर्यभक्त अधिकारीले नेपथ्य आफैंमा गीतसंगितको ब्राण्ड भएको भन्दै चितवनको उत्कृष्ट कार्यक्रम बन्न सफल भएको प्रतिक्रिया दिए।

गीत र संगितको तालमा गायक गुरुङले कम्मर मर्काउँदै हाउभाउमा दर्शकलाई रोमाञ्चक बनाउन चुकेनन्। उनको प्रस्तुतिमा नेपालीपन, भक्तिभाव झल्किन्थ्यो। एक हजार र ५०० टिकट काटेका दर्शक नारायणी किनारमा हजारौं थिए।

चितवन क्षेत्र नम्बर- २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेशसभा सदस्य विजय सुवेदीको परिवारसहित नेपथ्यमा रमाए। चितवनका प्रहरी उपरीक्षक दीपक थापा र उनका परिवार नेपथ्यको गीतमा झुम्दै नाचे। प्रदेशसभा सदस्य सुवेदीले नेपालीपनको उत्कृष्ट प्रस्तुति भन्दै नेपथ्यको प्रशंसा गरे।

बीचबीचमा सन्देश बाँड्ने अमृत गुरुङले डा. गोविन्द केसीको आन्दोलना साथ दिन पनि अपिल गरे। ‘हिमाल पहाड तराई कोही छैन पराई, हामी मिलेर बसौँ हो...ई।’ राष्ट्रियताको सन्देश बाँडे। लोकसंस्कृति र भाषा बचाउन आग्रह गरे।

'देश बनाउन हामी आफैँ लाग्नुपर्छ' भन्दै गुरुङले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत प्रस्तुत गर्दा कम्मर नमर्काउने दर्शक थिएनन्।

उनले 'तिमी पनि नेपाली म पनि नेपाली, यो जिन्दगानी, हिमाल चुचुरे, रेशम, तालको पानी' गाएर दर्शकलाई दुई घण्टा मुग्ध पारे। उनले 'रातो र चन्द्र सूर्य' गीतमा दर्शकलाई एकताको सन्देश छाड्दै संगीतको बिट मारे।

अमृतलाई बाद्यवादकहरू ड्रम्समा ध्रुव लामा, देश गितारमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, पियानोमा सुरज थापा र गितारमा निरज गुरुङले साथ दिएका थिए। शान्ति यात्राका क्रममा चितवनको रत्ननगरमा नेपथ्य व्याण्डले चार वर्षअघि प्रस्तुति दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.